काठमाडाैं । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा परीक्षणका क्रममा कोरोना संक्रमण पुष्टि भएका वीरगन्जका ३ जनाकाे सम्पर्कमा आएकाेहरूकाे खाेजी सुरु गरिएकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले शनिबार देखिएका संक्रमितकाे कन्ट्याक्ट ट्रेसिङका लागि टोली खटाइएको जानकारी दिए ।
शनिबार राति गरिएका परीक्षणमध्ये ३ वटा नमुना पोजेटिभ देखिएकाे र उनीहरू भारतीय नागरिक रहेकाे देवकाेटाले बताए । ३७ वर्षीय, ४४ वर्षीय र ५५ वर्षीय तीनै जना पुरुषको स्वास्थ्य अवस्था सामान्य रहेको पनि डा. देवकोटाले बताए ।
हालसम्म प्रयोगशालामा पिसिआरबाट ५ हजार १ सय ८४ जनाको परीक्षण गरिएको छ। जसमध्ये गत २४ घण्टामा ७ सय ९५ वटा परीक्षण भएका छन्। राष्ट्रिय प्रयोगशाला, टेकुमा हालसम्म ४ हजार २० जसमा गत २४ घण्टामा ६ सय २८ वटा नमुना परीक्षण गरिएको छ।
उपत्यका बाहिर हालसम्म १ हजार १ सय ६४ वटा नमुना परीक्षण गरिएको छ, जसमा गत २४ घण्टामा १ सय ६८ वटा परीक्षण भएका छन्। आरडिटी परीक्षण गर्न सबै जिल्लामा परीक्षण किट पुगेको छ। धेरै जिल्लामा परीक्षण सुरु भइसकेको मन्त्रालयले जनाएको छ। हालसम्म ३ हजार ३ सय २१ जनाको आरडिटी प्रविधिमार्फत परीक्षण भइसकेको छ।
हाल देशैभर क्वारेन्टाइनमा ७ हजार ९ सय ७३ जना छन्। उत्पयकाभित्र १५ जना र बाहिर ७० गरी हाल देशभर आइसोलेसनमा ७५ जना रहेका छन्।
स्वास्थ्य मन्त्रालयले सञ्चालन गरेको वेबसाइट र एपमार्फत हालसम्म १ हजार ५ सय ७० ले विवरण भरेका छन्। गत २४ घण्टामा ९ सय ५४ जनाले विवरण भरेका छन्। जसमा १७ जना रेड जोनमा छन्। हालसम्म रेड जोनमा २ सय ६ जना रहेका छन्। शनिबारसम्म दार्चुलामा ४ सय ६० वटा पिसिआर परीक्षण गर्न संकलन गरिएको प्रवक्ता देवकोटाले बताए।
हालसम्म नेपालमा कोरोना संक्रमण भएका १२ जना भेटिएका छन्। जसमध्ये एक जना निको भइसकेका छन्। शनिबार थप तीन जनामा संक्रमण देखिएसँगै स्वास्थ्य मन्त्रालयले केही नयाँ रणनीति अपनाएको प्रवक्ता देवकोटाले बताए।
उनले भने ,‘लक डाउनलाई पूर्ण पालना गर्न र होम क्वारेन्टाइनमा बस्नुपर्ने रणनीति बनाएका छौं। सँगै परीक्षणको दायरा बढाउने काम पनि भइरहेको छ। परीक्षण बढेसँगै संक्रमण भए/नभएमा के कस्तो भावी रणनिति तय गर्ने भन्नेमा सहज हुन्छ।’
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६