वीरगन्ज । पर्साको वीरगन्जस्थित एक मस्जिदमा बसेका ३ जना भारतीय नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना परीक्षण क्रममा उनीहरुमा संक्रमण पोजेटिभ देखिएको हो । वीरगन्जबाट नमुना संकलन गरी हेटौंडास्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि टेकुमा पुनः परीक्षण गर्दा उनीहरु संक्रमित भएको पुष्टि भएको हो ।
भारतबाट आएका २४ जनासहित ३३ जनाको नमुना संकलन गरी गत बिहीबार परीक्षणका लागि हेटौंडा प्रयोगशाला पठाइएको थियो । संक्रमित तीनै जना मुस्लिम समुदायका रहेको तथा २ जना उत्तरप्रदेश र १ जना दिल्लीमा बस्दै आएका स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार उनीहरु सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन नेपाल आएका थिए ।
कोरोना पोजेटिभको सुचना पुगेपछि संक्रमितहरुलाई राखिएको वीरगन्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवाहरु बन्द गरिएको छ ।
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६