गौर । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले आफ्नो निर्वाचन क्षेत्र अन्तर्गतका सबै स्थानीय तहलाई स्वास्थ्य सामग्री उपलब्ध गराएका छन् ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्न स्थानीय तहलाई स्वास्थ्य सामग्री अभाव भएकोले स्थानीय तहलाई सशक्त बनाउन पूर्वघोषित वाचा पूरा गर्दै सांसद साहले निजि खर्चबाट सामग्री उपलब्ध गराएका हुन् ।
सांसद साहले आफ्नो निर्वाचन क्षेत्रमा ६ वटा स्थानीय तहमध्ये बुधबार ४ वटा नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध गराए । सांसद साहले १ हजार थान सर्जिकल मास्क, ५० थान एन ९५ मास्क, १ सय वटा सर्जिकल ग्लब्स, २ सेट पिपिई र ५/५ लिटरको एउटा र आधा लिटरको ५ वटा सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री उपलब्ध गराउन लागेका हुन् ।

उनको निर्वाचन क्षेत्रमा पर्ने फतुवा विजयपुर नगरपालिका, गुजरा नगरपालिका, देवाही गोनाही नगरपालिका र गरुडा नगरपालिकाले उक्त सामग्रीहरु बुझिसकेका छन् भने मौलापुर नगरपालिका र कटहरीया नगरपालिकाले भोलि प्राप्त गर्ने छन् ।
बजारमै नपाएपछि सबै स्थानीय तहमा स्वास्थ्य सामग्री अभावका कारण भाइरस नियन्त्रण गर्न जटिलता सृजना भइरहेकोले आफूले सानो सहयोग गरेको सांसद साहको प्रतिक्रिया छ । सांसद साहले उपलब्ध गराएको सामग्री ती स्थानीय तहहरुका लागि उपयोगी हुने छ ।
कोरोना भाइरसको महामारी नियन्त्रणका लागि आफ्नो तर्फबाट स्वास्थ्य सामग्री उपलब्ध गराएका नेता साहप्रती स्थानीय तहहरुले धन्यवाद ज्ञापन गरेको छ । सबै मिलेर मात्र कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्न सकिने भन्दै हातोमालो गर्न सांसद साहले सबैमा अपिल गरे ।
प्रकाशित मिति: बुधबार, चैत २६, २०७६