काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड १९) सम्पूर्ण मानव जातिका लागि दुस्मन रहेको बताएका छन् ।
मंगलबार दिउँसो ज्योति ग्रुपले हस्तान्तरण गरेको अटोमेटिक ब्याकप्याक स्प्रेयर बुझ्दै मन्त्री ढकालले कोरोनाविरुद्ध सम्पूर्ण मानवजाति एकताबद्ध भएर लड्नुपर्ने बताए ।
मन्त्री ढकालले विपद्को बेलामा सरकारसँग हामी सँगै छौँ भनेर दिएको सहयोगका निम्ति धन्यवाद दिँदै सबै मिलेर नै कोरोनालाई परास्त गर्न सकिने बताए । उनले यस्ता सहयोगले कोरोनाको विरुद्धमा फ्रन्टलाइनमा बसेर काम गर्ने सम्पूर्ण चिकित्साकर्मी लगायत सबैको मनोबल अझै बढेकाे बताए ।
स्प्रेयर हस्तन्तरण गर्दै ज्योति ग्रुपका निर्देशक एवं स्याकार ट्रेडिङ कम्पनी प्रा.लि.का अध्यक्ष सौरभ ज्योतिले अहिले थप सहायोगका निम्ति तयार रहेको बताए ।
सरकारलाई विपद्को समयमा सहयोग गर्नु कम्पनीको पनि कर्तव्य रहेको भन्दै उनले आगामी दिनमा पनि अन्य खालका सहायोगका लागि कम्पनी तयार रहेको बताए ।
होन्टा अटोमेटिक ब्याकप्याक स्प्रेयर सार्वजनिक स्थानहरुमा कीटनाशक औषधि छर्नका निमित्त उपयोगी हुने छ । ज्योति ग्रुपले १० थान अटोमेटिक ब्याकप्याक स्प्रेयरको ७ लाख रुपैयाँ पर्ने जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६