काठमाडौं । भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा राखिएका ९४ जनाकाे परीक्षणमा कोरोना संक्रमण नेगेटिभ पाइएकाे छ ।
स्वास्थ्य मन्त्रालयमा आइतबार आयोजित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विभिन्न देशबाट आएर खरिपाटी क्वारेन्टाइनमा बसेका ९४ जनाकै कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएका हुन् ।
‘खरिपाटीमा रहेका ९४ जनाकै परीक्षण गराइसकिएको छ। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ,’ उनले भने ।
यसअघि संक्रमण देखिएका व्यक्तिकाे कन्ट्याक ट्रेसिङ जारी रहेकाे भन्दै डा. देवकाेटाले शनिबार भेटिएका नयाँ संक्रमितको पनि कन्ट्याक ट्रेसिङ सुरु गरिएको जनाए ।
यस्तै, काठमाडौं उपत्यकामा १२ र बाहिर १ सय १ गरी १ सय १३ जना आइसोलेसनमा उपचाररत रहेको जानकारी दिए ।
ब्रिफिङका क्रममा डा. देवकाेटाले हालसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशालामा १ हजार ५ सय २९ जनाकाे परीक्षण गरिएकाे जानकारी दिए । त्यसमध्ये ९ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे र बाँकी १ हजार ५ सय २० जनामा संक्रमण नपाइएकाे उनले जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार काठमाडौं उपत्यकाबाहिर ७ ठाउँमा कोरोनाको परीक्षण भइरहेको जानकारी दिए ।
प्रवक्ता देवकोटाका अनुसार धरान, पोखरा, जनकपुर, सुर्खेत, हेटौडा, धनगढी र चितवनमा कोरोनाको परीक्षण सुरु भइसकेको छ भने बुटवलमा हुन सकेको छैन।
प्रकाशित मिति: आइतबार, चैत २३, २०७६