काठमाडौं । सरकारले विवादमा परेको मेडिकल सामग्री खरिद सम्झौता रद्द गरेको छ ।
स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री ल्याउन ओम्नी समूहसँग गरेको सम्झौता रद्द गरेको हो ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सम्झौता रद्द गरिएको जानकारी दिएका हुन् ।
कम्पनीले १० प्रतिशत मात्रै सामान ल्याएकाले सम्झौता रद्द गरेको उनले बताए । सम्झौता रद्दसँगै कम्पनीको ५ करोड रुपैयाँ धरौटी जफत हुने छ ।
श्रेष्ठकाअनुसार पहिलो पटकमा ल्याउनुपर्ने सामानमध्ये जम्मा १० प्रतिशत मात्र सामान आएको छ भने २ अप्रिलमा दोस्रो पटक सामान आइसक्नुपर्नेमा त्यसको सम्भावना नदेखिएकाे श्रेष्ठले बताए ।
त्यसकारण सम्झौता रद्द गर्ने र ओम्नी समूहलाई कालो सूचीमा राख्न आग्रह गर्ने निर्णय भएको श्रेष्ठले बताए ।
विभागले अब नयाँ खरिद प्रक्रिया सुरु गर्ने छ । ३ दिन मात्र समय दिएर भोलि प्रस्ताव आह्वान गर्ने निर्णय भएको श्रेष्ठले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६