काठमाडाैं । उपत्यकाबाहिर कोरोना (कोभिड–१९) नमुना परीक्षण धमाधम भइरहेको छ । मङ्गलबार परीक्षणका लागि मेसिन पुगेपछि ७ वटै प्रदेशमा नमुना परीक्षण धमाधम भइरहेको जनाइएको छ ।
धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानमा सोमबार नै परीक्षण सुरु भएको हो । अहिले धरानमा दैनिक १२ जनाको स्वाब परीक्षण सुरु गरिएको प्रतिष्ठानका कार्यवाहक उपकुलपति गुरु खनाले बताए । ती सबैको नेगेटिभ रिपाेर्ट आएको उनले जानकारी दिए । अरूको थप परीक्षण गर्ने तयारी भइरहेको छ ।
यसैगरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले मङ्गलबारबाट स्वाब परीक्षण सेवा सुरु गरिएको जानकारी दिए ।
उनका अनुसार अहिलेसम्म ३ वटा परीक्षण गरिएकामा २ जनाको संक्रमण नदेखिएको र अर्को १ जनाकाे भने रिपाेर्ट आउन बाँकी छ ।
प्रदेश नं. २ को जनकपुर, सुदूरपश्चिम प्रदेशको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र प्रदेश नं. ५ को बुटवलमा पनि आज साँझबाट नमुना परीक्षण गर्ने तयारी रहेको कोभिड–१९ प्रयोगशाला व्यवस्थापन समितिका पुष्पराज खनालले जानकारी दिए ।
उनका अनुसार यी चारै स्थानमा नमुना परीक्षणका लागि प्रोटेबल पिसिआर मेसिनसहित सम्पूर्ण सामग्री पुगिसकेको छ । यसअघि नै प्रयोगशाला सञ्चालन गर्नका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनशक्ति खटाइसकेको छ ।
मन्त्रालयले अहिलेका लागि दैनिक १२ जनाको नमुना परीक्षण गर्ने गरे पनि चाँडै नै प्रयोगशालाको स्तरवृद्धि गरेर ७ वटै प्रदेशबाट दैनिक १ हजार जनाको स्वास्थ्य परीक्षण गर्ने तयारी गरेको खनालले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६