बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको संक्रमणले थला परेका छन् ।
१ सातादेखि फैलिएको रुघाखोकीको संक्रमणले ३ सय बढी परिवारका सदस्य बिरामी परेका छन् । रुघाखोकी र ज्वरोले १ घरका २ देखि ५ जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले जानकारी दिए ।
सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए ।
परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ । लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।
बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ । गाउँ नै रुघाखोकीको संक्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाई सञ्चालन गरिएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १९, २०७६