काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पारेका छन् ।
उनले भने, रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो । हिजो र आजको दर देखाएर अनियमिता गर्यो भन्ने कुरा जायज नभएको उनको भनाइ थियो ।
उनले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गरे । ‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ , उनले भने, यसमा एक इन्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट हामीले अनियमिता गरेका छैनौँ । त्यो अनियमिता नगरेको कुरा अहिले मात्र नभई भोलि जुनसुकै ठाउँमा पनि उभिएर नैतिक जिम्मेवारी लिएर जवाफदेही वहन गर्ने छु ।
उनले महामारीका बेला अरु विषय नपाएर औषधिजन्य सामग्रीमा अनियमितता भयो भन्ने आशङ्का गरेर आफ्नो चरित्र हत्या गर्न खोजिएको समेत बताए ।
औषधिजन्य सामग्री ल्याउने काम नहुँदासम्म त्यो ल्याउने काम नभएको भन्ने र काम भइसकेपछि आत्तिएर विभिन्न खालको वहाना र आरोप लगाउने काम भएको छ उनले भने, यस्ता खालको कुराले मन्त्रीलाई काम गर्ने कुरामा अलिकति ब्रेक लगाउन सकिन्छ कि भन्ने मनशाय होला तर आन्दोलनमा जन्मिएको, हुर्किएको हुनाले र अहिलेसम्म यस्ता धेरै अग्निपरीक्षा पास गर्दै आएको छु । यसको पनि सामना गर्न तयार छु ।
उनले कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको बैठकबाट निर्णय गरेर एक दिन सार्वजनिक सूचना दिने र भोलिपल्ट इच्छुक व्यवसायीलाई बोलाई छलफल गरेर चीनबाट सामान ल्याउने निर्देशन अनुसार नै औषधि ल्याइएको स्पष्ट गरे ।
प्रतिकूल अवस्थामा औषधि ल्याउने समितिको निर्देशन अनुसार बोलपत्र आह्वान गरिएको थियो । त्यो आह्वानमा दुई कम्पनीले मात्र औषधि ल्याउने आशयको पत्र बुझाएका थिए उनले भने, तर छलफलका क्रममा दुई वटामध्ये एक कम्पनीले अहिलेको स्थितिमा औषधि ल्याउन सक्दिन भन्यो । बाँकी वैधानिक रुपमा आएको एक वटा कम्पनीसँग उसले राखेको दरभन्दा ०.५ प्रतिशत कममा औषधि ल्याउने सहमतिअनुसार ल्याइएको हो ।
मन्त्री ढकालले अर्को प्रसंगमा अतिजोखिम र प्रभावित मुलुकबाट विदेशबाट आएका व्यक्तिले राज्यले बनाएको मापदण्ड नमान्दा सङ्क्रमण फैलिने डर भएको बताए ।
थपिएको समय उच्च जोखिममा
उनले थप गरिएको बन्दाबन्दी (लकडाउन) समय उच्च जोखिमको अवधि रहेको बताए । उनले लकडाउनका अवधिमा विदेशबाट आएकामा मात्र कोभिड–१९ भाइरस सीमित रह्यो भने नियन्त्रण गर्न सहज हुने धारणा राखे ।
यो भाइरस १४ दिनमा लक्षण देखाउँछ । अहिलेको लकडाउनले १४ दिनको अवधि पूरा गर्दछौँ । सो अवधिमा हवाइजहाज र स्थलमार्गबाट बाहिरबाट आएकालाई १४ दिनसम्म राख्दा तिनीहरुमा मात्र भाइरस सीमित रह्यो भने सहज हुन्छ । यो भाइरस झाँगिन नपाए जोखिमको खतराबाट सुरक्षिततिर (सेफ साइड) मा हामी फर्कने छौँ , कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका सदस्य ढकालले भने, तर विदेशबाट आएका सक्रङ्मितसंँग घुलमिल भएका दाजुभाइ दिदीबहिनीलाई यो सङ्क्रमण बढ्यो भने झन् ठूलो भयावह स्थिति आउन सक्छ ।
स्वास्थ्यमन्त्रीले विश्वमा नै रोकथाम गर्न नसकिरहेका अवस्थामा अहिल्यै रोकथाम गर्न सकिने भन्ने अवस्था नरहेको स्पष्ट गरे । उनले कोरोना अस्पतालमा निधन भएकाको पनि कोरानाको कारणले निधन भएर हल्ला फिँजाइएको छ भन्दै यस्तो खालको कुराले समाजमा आतंक र अविश्वास पैदा गर्ने बताए ।
निजी अस्पताललाई कडाइ
उनले निजी अस्पतालले बिरामीलाई उपचार नगरेरै अन्त सिफारिस गर्ने गरेको आफूले थाहा पाएको बताउँदै त्यस्ता अस्पताललाई कारवाही गरिने चेतावनी दिए । उनले ज्वरो बढी भएका बिरामीलाई राख्नका लागि चारपाँच आइसोसेलेशन बेड राख्न निजी अस्पताललाई भनिएको जानकारी पनि दिए ।
ती अस्पतालले ज्वरो, रुघाखोकी लागेको सामान्य बिरामीलाई उपचार गर्दिन भन्न पाउँदैनन् । बढी ज्वरो आएको बिरामी र घर पठाउन नसक्ने खालका आए भने तिनलाई उनीहरुले अस्पतालमै राखेर उपचार गर्नुपर्दछ , उनले भने, अस्पतालमा राखेपछि सम्बन्धित व्यक्ति कोभिड–१९ को सङ्क्रमण भएको अवस्थामा उनीहरुलाई सरकारले तोकेको अस्पतालमा पठाउन भनेको छौँ ।
स्वास्थ्यमन्त्रीले कोरोना भाइरस विरुद्ध एकताबद्ध र साझा प्रतिबद्धता लिएर लडे मात्र नेपाल र नेपालीले विजय प्राप्त गर्न सकिने विश्वास दिलाए । रासस
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६