काठमाडौं । चीनबाट ल्याउँदै गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षण र उपचारका स्वास्थ्य सामग्री बीचबाटोमै रोकिएको छ ।
स्वास्थ्य सामग्रीको गुणस्तरमा शंका लागेपछि ती सामग्री चीन सरकारले ल्हासामै रोकेको हो । नेपाली दूतावासलाई चिनियाँ एक कम्पनीले ती सामग्री अनुदानमा दिएको थियो । जुन सामग्री तातोपानी नाकाबाट ल्याउने प्रबन्ध मिलाइएको थियो । नेपालमा किट सकिँदै गएकाले तत्काल सामग्री चाहिने भन्दै ती सामग्री ल्याउन लागिएको थियो ।
चीन सरकाले अनुदानमा दिन लागेको स्वास्थ्य सुरक्षा सामग्रीको सूचीमा ती किट समावेश छैनन् । जसका कारण तिब्बत सरकारले ती सामग्री रोकेको हो ।
चीनले १९ वटा कम्पनीहरु सूचीकृत गरेको छ । जसबाट चिनियाँ सहयोग पठाउने गरेको र सो सूचीमा बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनी छैन । सो कम्पनीले नेपाली दूतावासलाई सोझै उपलब्ध गराएको थियो । उसले ३० हजार अमेरिकी डलर बराबरको २ हजार किट सहयोग गरेको हो ।
चिनियाँ स्वास्थ्य सामग्रीको गुणस्तरका विषयमा प्रश्न उठेपछि नेपालका लागि हिँडेको सामग्री बीच बाटैमा रोकी निर्यातयोग्य सामग्री नभएको तिब्बत सरकारले बताएको छ ।
यसअघि स्पेनले चिनियाँ कम्पनीको सामग्रीको गुणस्तरमा प्रश्न उठाउँदै सामग्री फिर्ता गर्ने निर्णय गरिसकेको थियो ।
चीनबाट बेइजिङ साभान्ट बायोटेक्नोलोजी कम्पनीले नेपाली दूतावासमार्फत नेपाल पठाउन लागेको २ हजार जनालाई कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न मिल्ने किट निर्यातयोग्य नदेखिएको हो ।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६