काठमाडौँ । बेल्जियमबाट कतार हुँदै काठमाडौँ आएकी १९ वर्षीया अर्की युवतीमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
अहिले संक्रमण देखिएकी बागलुङकी युवती चैत ४ गते नै कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी थिइन् । त्यही विमानमा आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरसको संक्रमण भएको १० चैतमा पुष्टि भएको थियो ।
योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ पुगेको छ । जसमध्ये १ जना उपचारपछि घर फर्किसकेका छन् २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र १ जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
यसअघि चीनबाट आएका १ युवामा कोरोनाको संक्रमण देखिएको थियो । उनी स्वस्थ भएर घर फर्केका छन् । त्यस्तै युएईबाट आएका अर्का एक युवा र फ्रान्सबाट आएकी युवती टेकु अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन भने शुक्रबार भेटिएका चौथो संक्रमित युवा सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत छन्।
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६