काठमाडौं । कोरोना सङ्क्रमित बिरामी हो हैन पत्ता लगाउन सहयोगी हुने २ हजार किट्स नेपाललाई सहयोग गर्ने उद्देश्यले एनआरएन कोरियाको नेतृत्वमा यहाँका नेपालीबाट गरिएको सहयोग संकलन अभियानअन्तर्गत २ दिनमै १ करोड २० लाख रुपैयाँ संकलन भएको छ । सहयोग संकलन आज पनि चल्ने बताइएको छ ।
एनआरएन कोरियाका महासचिव डा विमल सुवेदीले शुक्रबारसम्म ४ हजार ५ सय ६७ नेपालीबाट ११ करोड ९८ लाख ९३ हजार ४२२ कोरियन वन (झन्डै १ करोड २० लाख) संकलन भएको जानकारी दिए ।
सहयोग संकलन आज (चैत १५) गते कोरियन समयानुसार अपराह्न १ बजेसम्म व्यक्तिगत र संस्थागत रुपमा सहयोग गर्नेले साँझ ५ बजेसम्म सहयोग गर्न सक्ने बताइएको छ ।
२ दिनमै कोरियामा रहेका नेपालीबाट यति ठूलो सहयोग संकलन भए पनि नेपाल पठाउने भनिएको किट्स पठाउन भने असहज भएको छ ।
योजनानुरुप शुक्रबार नै नियमित उडानमार्फत किट्स चीनको ग्वान्जाउ पुर्याउने र शनिबार नेपाल सरकारले विमान चार्टर गरेर नेपाल पुर्याउने भनिए पनि कोरोनाको कारण कोरियाबाट चीन उड्ने विमानको नियमित उडान कटौती भएपछि पठाउन नसकिएको हो ।
उक्त किट्स २४ घण्टाभित्र सुरक्षित भण्डारण गरिसक्नुपर्ने हुन्छ । अन्तिम उडान प्राप्त हुनासाथ आइतबारसम्म पहिलो चरणमा पठाउने भनिएको सम्पूर्ण किट्स पठाइने जनाइएको छ ।
२ हजार किट्स खरिदपछि बाँकी हुन आउने सहयोग रकमले पनि आवश्यक स्वास्थ सामग्री नै खरिद गरेर पठाइने योजना एनआरएन कोरियाको छ ।
त्यसका लागि सम्बन्धित क्षेत्रका विज्ञको एक सुझाव समितिसमेत बनाइएको छ । उक्त समितिको सुझावअनुरुप अन्य स्वास्थ्य सामग्री खरीद गर्ने जनाइएको छ । रासस
प्रकाशित मिति: शनिबार, चैत १५, २०७६