काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका संभावित संक्रमित बिरामी कोभिड–१९ को नमुना परीक्षणका लागि काठमाडौँ आउने नपर्ने जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सम्भावित संक्रमितलाई सम्बन्धित अस्पतालले आइसोलेसनमा राखेर सिफारिस (रिफर) नगरी कोभिड–१९ को नमुना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताए ।
उनले हालसम्म ६ सय १० को नमुना परीक्षण भएकोमा २ जनाको कोभिड–१९ पोजेटिभ देखिएकामा १ जना उपचारपछि फर्किएको र हाल १ जनाकाे शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको जानकारी दिए।
हाल सो अस्पतालमा १६ जना संक्रमित भएको आशंकामा रहेकोमध्ये ५ जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा छन् ।
प्रवक्ता डा देवकोटाले सम्भावित संक्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीर अस्पतलामा चाँडै नै नमुना परीक्षणको प्रबन्ध गरिने बताए।
फ्रान्सबाट कतार हुँदै गतसाता काठमाडौँ आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम सुरु भएको छ।
यसैगरी मन्त्रालयको कल सेन्टरमा ५ हजार २ सय ३१ जनाले सम्पर्क गरी कोभिड–१९ को बारेमा जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले सम्बन्धित अस्पतालमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) पठाउन क्रम सुरु गरिएको जानकारी दिए।
उनले बजारमा लुकाई राखिएका पिपिइलाई खोजी र नयाँ उत्पादन गरी आवश्यकताका आधारमा अस्पतालमा पठाइने बताए ।
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६