काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना गर्न साञ्जेन जलविद्युत् गृहलाई ‘आइसोलेटेड मोड’मा सञ्चालन गर्ने तयारी थालेको छ ।
सामान्य अवस्थामा जलविद्युत् गृहबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा पठाएर देशभर वितरण गरिन्छ । तर, बाढीका कारण मुख्य प्रसारण लाइन क्षतिग्रस्त भएपछि साञ्जेन जलविद्युत् गृहलाई राष्ट्रिय ग्रिडबाट अलग गरी स्थानीय प्रणालीमार्फत विद्युत् आपूर्ति गर्ने तयारी गरिएको हो ।
प्राधिकरणले स्थानीय विद्युत् प्रणालीलाई छुट्टै सञ्चालनमा ल्याएर रसुवाका प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने प्रयास गरिरहेको जनाएको छ । त्यसका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय भइरहेको छ ।
साञ्जेन जलविद्युत् गृहबाट उत्पादित विद्युत् स्थानीय प्रणालीमा जोड्न मेसिनको पासवर्ड रिसेट गर्नुपर्ने भएकाले आवश्यक प्राविधिक सहयोगका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ कम्पनीसँग समन्वय गरिरहेको छ ।
आवश्यक प्राविधिक सहयोग प्राप्त भए साँझसम्म रसुवाको धुन्चेलगायतका क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु गर्ने लक्ष्य राखिएको छ ।
बाढी प्रभावित तथा तत्काल विद्युत् प्रणालीमा जोड्न सम्भव नहुने क्षेत्रमा भने वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य ऊर्जालगायत वैकल्पिक स्रोत प्रयोग गरी विद्युत् सेवा उपलब्ध गराउने तयारी भइरहेको छ ।
बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत गरी नियमित आपूर्ति पुनःस्थापना गर्ने कामसँगै तत्कालीन आवश्यकता पूरा गर्न वैकल्पिक ऊर्जा स्रोत परिचालन गर्ने रणनीति लिइएको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, भदौ १५, २०८३