काठमाडौँ । नेपालमा थप १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सरकारले बताएको छ ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फ्रान्सबाट कतार हुँदै नेपाल आएका १ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टि भएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री ढकालले ती बिरामीको अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए ।
‘हिजो बेलुका आएको रिपोर्टमा फ्रान्सबाट आएका १ जनामा कोरोना पोजिटिभ देखियो’, मन्त्री ढकालले भने । परिवारका सबै सदस्य र सम्पर्कमा आएका व्यक्तिहरु क्वारेन्टाइनमा रहेको मन्त्री ढकालले जानकारी दिएका छन् ।
यसअघि चीनबाट आएका १ जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६