काठमाडाैं । नेपाल रेडक्रस समाजले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम गर्न विशेष तयारी गरेको छ।
परिस्थिति जटिल बनेको खण्डमा कोरोना भाइरस संक्रमित र सम्भावित जोखिम भएका व्यक्तिलाई घर वा सामुदायिक स्थलमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्था आएमा रेडक्रसले स्थानका साथै आइसोलेसन वा क्वारेन्टाइनमा रहेका व्यक्तिहरूका लागि सहयोग गर्ने रणनीति बनाएको छ।
आवश्यक सामग्री खरिद, स्वास्थ्य अवस्थाको अभिलेखन, पारिवारिक सम्पर्क स्थापना, कैदीबन्दीहरुलाई सहयोग, मनोसामाजिक परामर्श तथा सहयोगजस्ता क्षेत्रमा काम गरी जीवन सहज बनाउन रेडक्रसकर्मीलाई खटाउने जनाइएको छ।
‘योजना अनुसार उपचार गर्ने अस्पतालहरूलाई आवश्यक सहयोगको व्यवस्था मिलाइने छ। कोरोना भाइरस संक्रमण भएको व्यक्ति पाइएको पुष्टि भएमा ऊसँग त्यसअघि सम्पर्कमा आएका व्यक्तिहरूको खोजी गरी उपचार गर्न रेडक्रसले तालिमप्राप्त टोलीको तयारी गरिसकेको छ,’ रेडक्रसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
प्रतिकार्यका क्रममा रेडक्रस मूल्य, मान्यताका साथै बाल संरक्षण, दुव्र्यवहार, लैङ्गिक तथा यौन हिंसा रोकथामका विषयलाई विशेष ख्याल गर्न आफ्नो मातहतका निकायलाई निर्देशन दिएको छ।
७७ वटै जिल्लामा सक्रियता
कोरोना भाइरस रोकथाम र प्रतिकार्यको लागि नेपाल रेडक्रस सोसाइटीले संस्थाका ७७ वटै जिल्लामा स्वयंसेवक र कर्मचारीहरुको सक्रियता बढाएको छ। रेडक्रसका जिल्ला शाखाले सामुदायिक परिचालक तथा स्वयंसेवकको व्यवस्था गरेका छन्।
संस्थाका विभिन्न विभागले एकीकृत योजना बनाई क्षमता विकास गरी स्वयंसेवक परिचालन, सामुदायिक आवश्यकता र संलग्नताको अवधारणा बमोजिम जनचेतनामूलक कार्यक्रम केन्द्रदेखि जिल्लास्तरमा सञ्चालन भइरहेको रेडक्रस स्वास्थ्य विभागका निर्देशक विपुल न्यौपानेले बताए।
विद्यालय तथा समुदायमा छलफल कार्यक्रम, अभिमुखीकरण तालिम सञ्चालन, स्थानीय संघ संस्थासँग बैठक, सूचना, शिक्षा तथा सञ्चार सामग्रीको वितरण, सडक नाटक तथा एफएम रेडियो मार्फत् समुदायलाई आवश्यक सही सूचनाहरू प्रचारप्रसार गतिविधिहरुमा रेडक्रसका युवा स्वयंसेवकहरु परिचालित भएका हुन्।
कोरोनाका कारण हुनसक्ने जोखिम न्यूनीकरणका लागि नेपाल सरकार, रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ, संयुक्त राष्ट्र संघलगायतका निकायसँग आवश्यक समन्वय गरी समग्रमा त्यसवाट हुनसक्ने क्षतिको रोकथाम तथा नियन्त्रण गर्न मद्दत पुर्यायाउने गरी कार्यविधि र कार्ययोजना नै तयार गरी काम भइरहेको नेपाल रेडक्रसका कार्यकारी निर्देशक उमेश ढकालले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी सन् २०२० को जनवरीदेखि कोरोना भाइरसको प्रतिकार्य र रोकथाममा नेरेसोले काम गर्दै आएको छ। रेडक्रसको आपत्कालीन केन्द्र पनि सञ्चालनमा आइसकेको छ। रेडक्रसले भाइरसभन्दा कैयौंगुणा छिटो फैलिएको अफवाह वा भ्रम कम गराई मानसिक दवाव, पीडा, डरका साथै समुदायमा हुनसक्ने हेयभाव कम गराउने काम पनि गरिहेको छ।
सहयोगका साथै व्यक्तिगत सुरक्षाको प्रवन्ध
शुक्रराज सरुवा रोग अस्पताल स्वास्थ्य डेस्कमा नेपाल रेडक्रसका स्वयंसेवकहरु दैनिक खटिइरहेका छन्। यसका अलावा रेडक्रस स्वयंसेवक र कर्मचारीहरुले देश भित्रिने नाका, विमानस्थल तथा मानिसहरूको बढी चहलपहल हुने स्थानमा हेल्प डेक्समा सहयोग गरिरहेका छन्।
यसैगरी थप सजगता अपनाउन केन्द्रीय कार्यालयमा प्रवेश गर्ने कर्मचारी तथा स्वयंसेवकको तापक्रम नाप गर्ने, गेटबाट पस्ने वित्तिकै हात धुने, बैठक बस्नै परेमा दुरी कायम गर्ने उपाय अवलम्बन गरिएको छ।
रक्तसञ्चार केन्द्रमा रगतको मागको लागि आउने विरामीका आफन्तलाई पनि सुरक्षाका उपाय अपनाइएका छन्।
रक्तदानमा सहयोग गर्न अनुरोध
नेपाल सरकारले भीडभाड नगर्न निर्देशन गरे अनुरुप मानिसहरुको सामूहिक भेला हुने क्रम घट्दै गइरहेकाले रक्तदान कार्यक्रममासमेत प्रभाव पर्न गई काठमाडौंलगायत देशका सबैजसो जिल्लामा रक्तदानका कार्यक्रममा कमी आएको रक्तसञ्चार केन्द्रकी निर्देशक डा. मनिता राजकर्णिकारले बताएकी छन्।
‘रगतको आपूर्तिमा कमी हुन नदिन र रगत आवश्यक पर्ने विरामीको जीवन बचाउन पायक पर्ने रक्तसञ्चार केन्द्रमा गई रक्तदान गर्न रेडक्रसले अनुरोध गरेको छ,’ डा. राजकर्णिकारले भनिन्, ‘असहज परिस्थितिमा रक्तसञ्चार निरन्तर गर्न थप सतर्कता र तयारी गरिएको छ र सहयोगको लागि स्वास्थ्य मन्त्रालयसँग कुराकानी भइरहेको छ।’
प्रकाशित मिति: आइतबार, चैत ९, २०७६