काठमाडौं । सरकारले काठमाडौँ उपत्यकाका अस्पतालमा आकस्मिकबाहेकका बहिरंग र शल्यक्रियालगायत सबै सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा शुक्रबार बसेको मन्त्रिस्तरीय बैठककाे निर्णयले कोभिड–१९ को उच्च सतर्कता अपनाउनका लागि उपत्यकाका ५० शय्या र सोभन्दा माथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रिया सम्बन्धी सेवा बन्द गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।
बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि तत्काल गर्नुपर्ने १५ वटा निर्णय गर्दै सरोकारवाला निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले सरकारका निर्देशन पालना भए नभएको समेत अनुगमन गर्न जनशक्ति खटाउने छ ।
मन्त्रालयले कोरोना भाइरस समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेस्टका लागि तयारी अवस्थामा राख्न निर्देशन दिएको छ ।


प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६