काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) ले कोभिड–१९ को संक्रमणको जोखिमलाई ध्यानमा राखेर आवश्यक परेको समयमा आफ्नो शिक्षालयमा ५ हजार जनालाई राख्न मिल्ने क्वारेन्टाइन बनाउन दिने भएको छ ।
बिहीबार बसेको हिसानको बैठकले भाइरसबाट प्रभावितलाई राख्न क्वारेन्टाइनको आवश्यकता परेमा सरकारसँगको समन्वयमा हिसान मातहतका स्कुल तथा कलेजमा तत्काल सर्तकताको व्यवस्था मिलाउने निर्णय गरेको हिसानका सचिव रामहरि सिलवालले जानकारी दिए ।
उनले ठूला संरचना भएका कलेजका फर्निचर बाहिर राखेर कक्षाकोठा र हलमा क्वारेन्टाइन बनाउन मिल्ने बताए ।
हिसानले संक्रमणबाट बच्ने उपायको सचेतना तथा अन्य आवश्यक कार्यका लागि सरकारी निकाय र अन्य संस्थासँग समन्वयका लागि आफ्ना जिल्ला कार्यसमितिलाई पनि आग्रह गरेको छ ।
सरकारले यही चैत मसान्तभित्र कुनै भेला, सम्मेलन आयोजना नगर्न आग्रह गरेको स्थितिमा हिसानले आगामी वैशाखमा हुने तय गरेको दोस्रो हिसान अन्तराष्ट्रिय शैक्षिक सम्मेलन, भेला र अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगन गर्ने निर्णय गरेको छ ।
सरकारको निर्णयका आधारमा चैत मसान्तसम्म सबै शैक्षिक गतिविधि, परीक्षा र तालिम बन्द भएका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६