काँकडभिट्टा । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सुदूरपूर्वी नाका काँकडभिट्टामा कोभिड–१९को सङ्क्रमणको जोखिम हुन नदिन भइरहेको कामको बिहीबार अनुगमन गरेका छन् ।
उनले जाँच प्रक्रिया, सुरक्षाकर्मी एवं स्वास्थ्यकर्मी परिचालनको निरीक्षण गरेका थिए । नाका अवलोकन क्रममा उनले कोरोना सङ्क्रमण रोकथामका लागि भीडभाड हुन नदिन, स्थानीय खुला हाटबजार बन्द गराउन र अनावश्यक रुपमा भारततर्फ सर्वसाधारणलाई आवतजावत गर्न जान नदिन प्रमुख जिल्ला अधिकारी र प्रहरीका स्थानीय प्रमुखहरुलाई निर्देशन दिए ।
मन्त्री कार्कीले सो भाइरसको जोखिम र जाँचमा खटिएकाको अवस्थाबारेमा कार्यस्थलमा परिचालित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसँग सोधपुछ गरेका हुन्। दैनिक ९ देखि १२ हजारसम्म मानिस भारतबाट आउने गरेको काँकडभिट्टा नाकामा न्यून साधन र स्रोतका कारण विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार स्वास्थ्यकर्मी परिचालन, आधुनिक उपकरणको उपयोग र दूरी कायम गरेर जाँच गर्न नसकिएको बताइएको छ ।
सो अवसरमा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य, उपप्रमुख मीना उप्रेती, प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना, सशस्त्र प्रहरी उपरीक्षक रेशमकुमार थक्सु, प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइराला र इलाका प्रहरी काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले नाकामा कोरोना रोकथामका लागि भइरहेको जाँचमा सुरक्षित एप्रोन, माक्स र जनशक्तिको अभाव रहेको जानकारी गराएका थिए।
मन्त्री कार्कीले सुरक्षित एप्रोन, माक्स, जनशक्तिलगायतका सबै विषयमा पर्याप्त सहयोग गर्न प्रदेश सरकार तयार रहेको उल्लेख गरे । प्रशासन र सुरक्षा निकायका प्रमुखको टोलीले मेचीनगर–७ सतिघट्टास्थित क्वारेन्टाइनको निरीक्षण गरेको थियो ।
क्वारेन्टाइनका लागि सम्पूर्ण बन्दोबस्ती र जनशक्ति सहयोग गरिदिन मन्त्री कार्कीमार्फत प्रदेश सरकारलाई आग्रह गरिएको मेचीनगरकी उपप्रमुख उप्रेतीले बताए। जाँचमा खटिने सरकारी कर्मचारी कार्यालय समय अवधिभर मात्र खट्ने हुँदा समस्या रहेको स्थानीयवासीले जानकारी दिएका छन्।
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६