चितवन । भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइने भएको छ । भरतपुर महानगरको अगुवाइमा सम्पन्न सरोकारवालाको बैठकले ७० शय्याको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो ।
बैठकले महानगरपालिका प्रमुख रेणु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ ।
कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य छन् । कार्यदलको सदस्य सचिवमा वरिष्ठ फिजिसियन डा भोजराज अधिकारी छन् ।
मंगलबार बसेकाे कार्यदलको बसेको बैठकले १० शय्याको सघन उपचार कक्ष, १० शय्याको हाई डिपेन्डेन्ट युनिट (एचडियु) र ५० शय्याको सामान्य शय्या ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ ।
कार्यदलका सदस्य सचिव अधिकारीका अनुसार अस्पताल सञ्चालनका लागि विभिन्न व्यक्ति र संस्थाहरुलाई कामको जिम्मेवारीसमेत दिइएको छ ।
अस्पतालको बहिरङ्ग सेवा डा अधिकारी र चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा अनिलविक्रम कार्कीले समन्वय गरी सञ्चालन गर्ने जिम्मेवारी बैठकले दिएको छ ।
यसैगरी जनरल वार्ड बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्य, एचडियु सञ्चालन गर्न कलेज अफ मेडिकल साइन्सेस एवं निजी अस्पताल समन्वय समिति र सघन उपचार कक्षको जिम्मेवारी चितवन मेडिकल कलेजलाई दिइएको छ ।
जनशक्ति व्यवस्थापनका लागि भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी र आवश्यक पूर्वाधारको व्यवस्थापनका लागि भरतपुर महानगरपालिका, जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ चितवन र उद्योग संघ चितवनलाई बैठकले जिम्मेवारी दिएको छ । बैठकले प्रयोगशाला र रेडियोलोजी विभाग सञ्चालन गर्न निजी अस्पताल समन्वय समितिलाई जिम्मेवारी दिएको छ ।
कार्यदलका प्रवक्तासमेत रहेका अधिकारीका अनुसार जिल्ला र बाहिरका अस्पताल एवं विभिन्न स्वास्थ्य परीक्षण गरिएका क्षेत्रमा भेटिएका शंकास्पद बिरामीलाई यस अस्पतालमा पठाइने छ । तत्कालका लागि सरकारी र निजी अस्पतालमा रहेका आइसोलेसन कक्ष पनि सञ्चालनमा रहने छन् ।
महानगर प्रमुख दाहालले रोग भित्रिन नदिन उच्च सतर्कता अपनाउने काम भइरहेको भन्दै रोग फैलिहालेमा पूर्व तयारीका लागि काम थालिएको बताइन् । सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्ने भन्दै उनले एकजुट भएर काम गरेमा रोग भित्रिन नपाउने र भित्रिहालेमा क्षति व्यहोर्नु नपर्ने बताइन् ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६