काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणको आशंकामा थप परीक्षणका लागि सिरहाबाट जनकपुर पठाएका सबै बिरामी स्वस्थ्य रहेको पुष्टि भएको छ ।
केही दिनअघि भारतबाट फर्केका सिरहा नगरपालिका–१० नरहैयाका ९ जना बिरामीमा कोरोना भाइरस संक्रमण हुनसक्ने आशंकामा थप परीक्षणका लागि सोमबार साँझ जानकी मेडिकल कलेज जनकपुर पठाइएको थियो ।
पठाएका सबैमा कोरोनाको कुनै लक्षण नभेटिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।
कोरोना भाइरसको लक्षण नदेखिएपछि स्वास्थ्य परीक्षण नै नगराई सबै राति नै आ–आफ्नो घर फर्किएको प्रमुख यादवले बताए ।
रोजगारीका लागि भारतका विभिन्न ठाउँमा बस्दै आएका उनीहरुमा सामान्य रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि कोरोना संक्रमणको आशंका लागेर थप उपचारका लागि वडाध्यक्ष जुगत कामतीलगायत स्वास्थ्यकर्मीको टोलीले एम्बुलेन्सबाट जनकपुर पठाएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत ४, २०७६