झापा । पूर्वीनाका काँकडभिट्टाबाट कोराेना संक्रमण भित्रिन नदिन र जाँच व्यवस्थित बनाउन मेचीनगर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ ।
नगरभित्रका विभिन्न संघसंस्थाका ४० प्रतिनिधिको टोलीले सोमबारदेखि आलोपालो गरेर बिहान ६ देखि बेलुका १० बजेसम्म भीडभाड व्यवस्थापन गर्ने तथा अनावश्यकरुपमा भारततिर नजान अनुरोध गरेको छ ।
मेची उद्योग वाणिज्य संघको अध्यक्षतामा आइतबार नगरपालिकाले विभिन्न संघसंस्थाका प्रतिनिधिसहितको स्वयंसेवक परिचालन समिति गठन गरेपछि उनीहरु आजदेखि सक्रिय भएर नाकामा काम गर्न थालेका हुन् ।
स्वयमसेवकका रुपमा काम गर्नेलाई मेची उद्योग वाणिज्य संघले ५ इन्फोरेट थर्मामिटर (ज्वरो नाप्ने यन्त्र), एप्रोन, मास्क, टोपी र पञ्जाको व्यवस्था गरेको संघका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिए ।
तिम्सिनाका अनुसार दैनिक ४० जनाले ४ टोली बनाएर दिनको ४-४ घण्टा नाकामा बसेर स्वयंसेवा गर्ने छन् । टोलीमा उद्योग वाणिज्य संघ, माइती नेपाल, रोटरी क्लब, ट्राभल्स संघ, जेसिज, होटल व्यवसायी संघ, नेपाल रेडक्रस सोसाइटी, नाइटचेस क्लब, मानव बेचबिखन विरुद्धका क्षेत्रमा काम गर्ने सबै संघसंस्थालगायत १६ रहेको उनले बताए ।
दैनिक १० हजारभन्दा बढीको संख्यामा भारततिरबाट नेपाल मान्छेहरु आउँदा रहे छन्, संघका अध्यक्ष तिम्सिनाले भने, पूर्वीनाका मुख्य भएको र यहाँ हेल्थ डेस्कमा रहेका ५ जना स्वास्थ्यकर्मीबाट मात्र सतर्कता अपनाउन र ज्वरो नाप्न सम्भव नभएपछि हामी लागेका हौँ ।
उनले मेची उद्योग वाणिज्य संघले खरिद गरेर ल्याएको ५ र सहायता कक्षमा नगरपालिकाले दिएको ३ इन्फोरेट थर्मामिटरले समेत अपुग भएका कारण थप १५ थर्मामिटर भारतको सिलगुढीबाट मगाइसकेको बताए ।
मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले पूर्वी नाका प्रदेश नम्बर १ कै मुख्य नाका भएको हुँदा उच्च सतर्कता अपनाउनुपर्ने र सचेतनामूलक कार्यक्रम गर्ने उद्देश्यले समिति गठन गरिएको बताइन् ।
नाकामा आवश्यक कामबाहेक भारततिर ओहोरदोहोर गर्नेलाई समेत समितिले रोक्छ, उपप्रमुख उप्रेतीले भनिन्, नगरपालिकाले समितिलाई चाहिने आवश्यक सामग्री खरीद गरेर उपलब्ध गराउने छ ।
प्रकाशित मिति: सोमबार, चैत ३, २०७६