काठमाडौं । गत फागुन २९ मा अस्पतालबाट डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि शिक्षण अस्पताल पुगेका छन् ।
मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक प्रधानमन्त्री ओली फलोअपका लागि आइतबार बिहानै त्रिवि शिक्षण अस्पताल पुगेका हुन् । मिर्गौला पुनः प्रत्यारोपणका क्रममा पेटभित्र राखिएको ‘स्टेन्ट’ निकाल्नका लागि चिकित्सकको सुझावअनुसार प्रधानमन्त्री अस्पतालमा गएका हुन् ।
केही फलोअप परीक्षण र स्टेन्ट निकालेपछि प्रधानमन्त्री ओली बालुवाटार फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा त्रिवि अस्पतालमा भर्ना भई शुक्रबार डिस्चार्ज भएर बालुवाटार फर्किएका हुन् ।
प्रकाशित मिति: आइतबार, चैत २, २०७६