इटहरी । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी उपमहानगरपालिकाले विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
उपमहानगरको ७४औँ बैठकले कोरोना भाइरसको संक्रमण हुन नदिनका लागि सचेतनामूलक कार्यक्रमसहित संक्रमण नियन्त्रण तथा रोकथामका लागि विभिन्न कार्यक्रम गर्ने निर्णय गरेकाे हाे ।
नगर उपप्रमुख लक्ष्मी गौतमले बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराएकी हुन् ।
उनका अनुसार उपमहानगरपलिकाले विभिन्न सरोकारवाला निकायसँग छलफल गरेर कार्यक्रम अगाडि बढाउने भएकाे छ ।
बैठकले कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि इटहरी अस्पतालमा सूचना सामग्रीसहित हेल्पडेस्क स्थापना गर्ने, सार्वजनिक स्थानमा भेला, सम्मेलन तथा भीडभाड नगर्ने, सामुदायिक विद्यालयमा सूचनामूलक व्यानर तथा साबुनपानीको व्यवस्था गर्ने र नगरवासीलाई साबुनपानीले मिचीमिची हात धुन आग्रह गर्ने निर्णय गरेको छ ।
यसरी जनचेतना तथा आवश्यक सतर्कता अपनाउनका लागि सहयोग गर्न निजी स्वास्थ्य संस्थालाई समेत आग्रह गरिएको उपप्रमुख गौतमले बताइन् ।
इटहरी अस्पतालका निमित्त मेसु मनिष शर्माले यो रोगको भाइरसले विशेष गरेर विभिन्न रोगको सामना गरिरहेका व्यक्ति तथा ६० वर्षभन्दा वढी उमेरका मानिसमा लाग्ने भएकाले सबैलाई सावधानी अपनाउन आग्रह गरे ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६