काठमाडौं । कुनै व्यक्तिमा कोरोना भाइरस (कोभिड—१९) को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ।
मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी नराख्ने बताएका हुन् ।
‘क्वारेन्टाइन भन्नेबित्तिकै हिजो चीनबाट विद्यार्थी ल्याएर सरकारले गर्ने, सरकारकै व्यवस्थापनमा गर्ने भन्ने कुरा नगरौं । अब सेल्फ (आफैं) क्वारेन्टाइनमा बस्नुपर्छ । डब्ल्युएचओको मापदण्डभित्र बस्नुपर्यो’ उनले भने ।
मन्त्री ढकालले अगाडि भने ‘दिनैपिच्छे ज्वरो आएको छ छैन भन्ने नाप्न सकिहालिन्छ, कति दूरी मेन्टेन गर्ने, के खाने, परिवारका सदस्यसँग कस्तो व्यवहार गर्ने, के गर्ने, के नगर्ने भन्ने कुराको प्रोटोकल हामीले तयार गरेका छौं ।’
परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो भने त्यसको जिम्माचाहिँ राज्यले लिने उनको भनाइ थियो । ‘ज्वरो, आयो रुघाखोकी लाग्यो भने अस्पतालमा परीक्षणको व्यवस्था गर्छौं । परीक्षण गराउँदा पोजेटिभ रिजल्ट देखियो, अस्पतालमै राखेर उपचार गर्नुपर्यो भने त्यसको जिम्मा राज्यले लिन्छ । क्वारेन्टाइनमा बस्ने कुराका लागि भने हामीले पहिलेको भन्दा प्रोटोकल चेन्ज गरेका छौं’, उनले भने ।
युवा संघले सामाजिक सञ्जाल र विझिन्न आम सञ्चार माध्यमबाट अड्कबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारिक सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
संक्रमण भएमा उपचार गर्ने र अन्यमा फैलिन नदिने विधिबारे प्रचारप्रसार गर्न आवश्यक कदम चाल्न पनि आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०७६