काठमाडाैं । नेपाली युवाहरूकाे प्रमुख वैदेशिक राेजगार गन्तव्यमध्येकाे मुलुक कतारले नेपालसहित १४ देशका नागरिकलाई अस्थायी प्रतिबन्ध लगाएको छ ।
नेपाल, बंगलादेश, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनन, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलङ्का, सिरिया र थाइल्यान्डका नागरिकलाई कतारमा सोमबारबाट लागू हुने गरी अस्थायी प्रतिबन्ध लगाइएको हो ।
कतारले इटाली उड्ने र त्यहाँबाट आउने सम्पूर्ण फ्लाइट्मासमेत प्रतिबन्ध लगाएको छ । कतारमा हालसम्म कोरोनाका १५ संक्रमित भेटिएका छन् । आइतबारमात्रै कतारमा तीन संक्रमित थपिएका थिए ।
उक्त निर्णय कोरोनाभाइरस (कोभिड–१९) लाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित लिइएको जानकारीमा उल्लेख छ ।
जिसिओले आइतबार जारी गरेको वक्तव्यमा कोरोनाभाइरसलाई फैलन रोक्नका लागि कतारले जतिसक्दो उपाय अवलम्बन गर्ने जानकारी दिएको छ ।
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ सयभन्दा बढी पुगेको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६