काठमाडौं । नेपाल औषधि उत्पादक संघले ६ महिनासम्म औषधिको अभाव नहुने बताएको छ ।
भारतले २६ प्रकारका औषधि निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा औषधि अभाव हुने आँकलन भइरहेका बेला संघले यस्तो बताएको हो । संघका निवर्तमान अध्यक्ष दीपकप्रसाद दाहालले जनवरीमा मात्रै ३८ मेट्रिक टन पारासिटामोल आएको बताए ।
कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलिरहेको भन्दै भारतले विभिन्न २६ प्रकारको औषधि र कच्चा पदार्थको निर्यातमा रोक लगाउने निर्णय बुधबार गरेको थियो ।
उनले भने, ‘कच्चा पदार्थ र तयारी वस्तु गरेर हामीसँग मौज्दात भएको ३ महिनाका लागि हो। भर्खरै नेपाल औषधि व्यवसायी संघले पनि प्रेस विज्ञप्ति जारी गर्दै ३ महिनाको लागि छ भनेर भनेको छ। भनेपछि नेपालमा यी वस्तुहरु ६ महिनासम्म पुग्छन् । हामी आत्तिनुपर्ने अवस्था छैन।’
संघका महासचिव विप्लव अधिकारीले नेपाल ७५ प्रतिशत औषधिमा आत्मनिर्भर रहेको बताए । अप्ठ्यारो अवस्थामा सरकारले विदेशमा माग्नुभन्दा नेपाली उद्योगिहरुलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘अहिले ७५ प्रतिशत औषधिमा हामी आत्मनिर्भर छौँ। विदेशीले जुनसुकै बेला रोक्यो भने पनि तयार छौँ। हारगुहार गर्नुपर्ने अवस्था छैन। सरकारले प्रोत्साहन ग¥यो भने २ वर्षमा नेपाली औषधि उद्योगहरुलाई पूर्ण रुपले आत्मनिर्भर बनाउँछौँ।’
प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०७६