काठमाडाैं । सरकारले भारतलाई औषधि निर्यात नरोक्न आग्रह गर्ने भएको छ । कोरोना भाइरसका कारण २६ प्रकारका औषधि निर्यात रोक्का गर्ने भारतको निर्णयले नेपालमा औषधि अभाव हुनसक्ने भन्दै सरकारले औषधि निर्यात फुकुवा गर्न अनुरोध गर्ने भएको हो ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले बिहान बसेको बैठकमा भारतले नेपाल पठाउन बन्देज लगाएको १३ प्रकारका औषधि फुकुवाको लागि पहल गर्ने विषयमा छलफल गरेको बताए ।
अर्थमन्त्री खतिवडाले भारतले निर्यात रोक लगाएका केही औषधि नेपालसँग स्टक रहेको तर केहीको अभाव हुन सक्ने भएकाले अनुरोध गरिने जानकारी दिए ।
भारतले गत मंगलबार औषधि र औषधिमा प्रयोग हुने जैविक कण एक्टिभ फर्मास्युटिकल्स इन्ग्रिडियन्ट (एपीआई) को निर्यात रोक्ने निर्णय गरेको थियाे ।
निर्यात रोकेका २६ मध्ये १३ किसिमका औषधि नेपाल आयात भएर उपचारमा प्रयोग हुँदै आएका छन् ।
भारतले एमोक्सिलिन, मोक्सी फ्लोक्सेसिन, डक्सी सिलिन एन्टिबायोटिक्सदेखि पारासिटामोल र टिबीका औषधिसम्म निर्यात नगर्ने निर्णय गरेको छ । औषधि उत्पादनमा आवश्यक एपीआईका लागि नेपालका कम्पनीहरु समेत चीन र भारतसँग निर्भर छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६