काठमाडौँ । बुधबार शल्यक्रियामार्फत मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।
रक्षामन्त्री ईश्वर पोखरेलका अनुसार ओलीले बिहीबार बिहान कालो चिया पिएका छन् । मैले चिकित्सकसँग कुराकानी गरेको थिएँ, प्रधानमन्त्रीले बिहान कालो चिया पिउनुभयो भन्नु भएको छ, उनले भने ।
बुधबार शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो । साढे ४ घण्टा लामो शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए ।
भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, सांसद तथा उच्च पदस्थ अधिकारी, शुभचिन्तक र शुभेच्छुकहरु अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरिहेका छन् ।
बिहीबार बिहानै प्रधानमसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत अस्पताल पुगेर स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अस्पतालले प्रधानमन्त्री ओलीको दैनिक स्वास्थ्य अपडेट प्रतयेक दिन दिउँसो ४ बजे जानकारी गराउने छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०७६