काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको छ । मिर्गौला दाता समीक्षा संग्रौलाको शल्यक्रिया सकिए लगत्तै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण भएको हो ।
बुधबार बिहान साढे १० बजेदेखि सुरु भएको मिर्गौला प्रत्यारोपण सफल भएको शल्यक्रियामा संलग्न चिकित्सकहरुले बताएका छन् ।
नयाँ मिर्गौलाले काम गर्न थालिसकेकाले अहिले प्रधानमन्त्रीको काटिएको शरीरको घाउमा टाँका लगाउने काम भइरहेको छ । प्रत्यारोपणपछिको करिब २ घण्टामा प्रधानमन्त्रीको होश फर्किने बताइएको छ ।
उपचारमा संलग्न चिकित्कसहरुले अबको एक घन्टापछि पत्रकार सम्मेलन गरेर थप जानकारी दिने छन् ।
ओलीको यो दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । २०६४ साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यसले राम्रोसँग काम नगरेपछि कात्तिकबाट नियमित डायलासिस गर्न थालिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६