काठमाडौं । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई शल्यक्रिया कक्षमा लगिएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षणपछि दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि शल्यक्रिया कक्षमा लगिएको एक चिकित्सकले जानकारी दिए ।
प्रधानमन्त्रीलाई ९ बजे नै शल्यक्रिया कक्षमा लैजाने तयारी भए पनि केही रिपोर्ट आउन बाँकी रहेका कारण ढिला भएको हो । प्रत्यारोपणका लागि करिब ५ घन्टा समय लाग्ने बताइएको छ ।
प्रा. डा. उत्तम शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाइँ, डा. सुजित पौडेल र डा. मनीष प्रधानले ओलीको मिर्गौला प्रत्यारोपण गर्ने छन् ।
प्रधानमन्त्री ओलीको सफल शल्यक्रिया र स्वास्थ्यलाभको कामना गर्दै शिक्षण अस्पताल परिसरमा शुभेच्छुकहरूको भीड लागेको छ । अस्पतालमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपा महासचिव विष्णु पौडेललगायत अन्य मन्त्रीहरु पनि पुगेका छन् ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो । यसअघि उनको १२ वर्षपहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६