काठमाडाैं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गाैला प्रत्यारोपण हुँदै छ ।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि डा प्रेमराज ज्ञवालीको नेतृत्वको चिकित्सक टोलीले बिहान ९ बजे प्रत्यारोपण सुरु गर्ने बताइएकाे छ । प्रत्यारोपणका लागि उनलाई आवश्यक औषधिहरु दिइएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको अस्पतालले जनाएको छ ।
प्रधानमन्त्री ओली प्रत्यारोपणका लागि यही फागुन १९ गते अस्पताल भर्ना भएका थिए । उनको प्रत्यारोपण अगाडि गरिने नियमित डायलासिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी छ ।
सामान्य अवस्था रहेमा प्रधानमन्त्री ओली १ साताभित्र अस्पतालबाट डिस्चार्ज हुने जनाइएको छ । प्रधानमन्त्री ओलीको मनोबल उच्च रहेको र उनको सफल प्रत्यारोपण तथा स्वास्थ्य लाभका लागि सिंगाे मुलुकले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा कोइरालाले मिर्गाैला दिने भएकी हुन् । यसअघि विसं २०६४ साउनमा भारतको एपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपण गरिएको थियो ।
प्रकाशित मिति: बुधबार, फागुन २१, २०७६