काठमाडौं । चीनको वुहानबाट उद्धार गरेर खरिपाटी क्वारेन्टाइनमा राखिएका १ सय ७५ जनामा कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।
१४ दिनसम्म क्वारेन्टाइनमा राखेपछि उनीहरुको स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार आइतबार आएको उनीहरुको स्वास्थ्य परीक्षण रिपोर्टमा कोरोना नेगेटिभ देखिएको हो ।
चीनको वुहानमा कोरोना संक्रमण फैलिएपछि सरकारले त्यहाँ रहेका १ सय ७५ जनालाई फागुन ४ गते उद्धार गरेर ल्याएको थियो । उनीहरुलाई भक्तपुर, खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा राखिएको थियो ।
नेपाल ल्याए लगतै गरिएको परीक्षणमा पनि नेगेटिभ रिपोर्ट आएको थियो । अहिले पनि नेगेटिभ रिपोर्ट आएपछि क्वारेन्टाइनमा बसेका सबै जना अब आआफ्नो घर जाने भएका छन् ।
पाइलट र चालक दलका सदस्य गरी १८ जनालाई भने नगरकोटस्थित खानेपानी मन्त्रालयको तालिम केन्द्रमा क्वारेन्टाइनमा राखिएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनीहरुको स्वास्थ्य परीक्षण गर्दा काेराेना संक्रमण नपाइएपछि उनीहरू आइतबार नै घर फर्किसकेका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६