बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी छ ।
सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट नेपाल भित्रिने १ सय ७८ जनाको स्वास्थ्य परीक्षण गरेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । दशरथचन्द नगरपालिका, स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले संयुक्तरूपमा यही फागुन १० गते सहायता कक्ष स्थापना गरेका थिए ।
परीक्षण गरिएका कुनै पनि नागरिकमा कोरोना भाइरसको सङ्क्रमण नभेटिएको उनले बताए । भारतबाट फर्किने सबै नागरिकको सहायता कक्षमा स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ । नगरपालिका मातहतका स्वास्थ्य संस्थाबाट सहायता कक्षमा २ जना स्वास्थ्यकर्मी खटाइएको छ ।
कोरोना भाइरसको सङ्क्रमणका बारेमा सचेतना फैलाउन र भारतबाट आउने नागरिकहरुको स्वास्थ्य परीक्षणका लागि सहायता कक्ष सञ्चालन गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दुर्गादत्त जोशीले बताए ।
सहायता कक्षमा भारतबाट फर्किने नागरिकहरुको ‘इन्फ्रारेड थर्मामिटर’ ले ज्वरो मापन गर्ने गरिएको स्वास्थ्य कार्यालय प्रमुख भट्टले बताए ।
सहायता कक्षमा ज्वरो मापनका साथै २ हप्ता अघिसम्म चीन गए/नगएको बारेमा सोधपुछ गर्ने र रुघाखोकी लागे/नलागेको बारेमा सहायता कक्षमा सोधपुछ भइरहेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।
अत्यधिक ज्वरो आएको र केही शङ्कास्पद बिरामी भेटिएमा जिल्ला अस्पतालमा अलग्गै कोठामा राख्ने व्यवस्था गरिएको समेत भट्टले बताए ।
सीमाबाट फर्कने नागरिकहरुमा कोरोनाको सम्भावित सङ्क्रमण रोक्नका लागि सहायता कक्ष स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताए ।
प्रकाशित मिति: सोमबार, फागुन १९, २०७६