हेटौंडा । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरसबाट बच्न संवेदनशील हुन अपिल गरेका छन् ।
आज एक सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले कोरोना भइरसबाट बच्न प्रदेश सरकारले पूर्वतयारी गरिरहेको उल्लेख गरेका छन् ।
पौडेलले सन्देशमार्फत छिमेकी मित्रराष्ट्र चीनमा महामारीका रुपमा फैलिएको नयाँ कोरोना भाइरसको सङ्क्रमणले त्यहाँ पुर्याएको मानवीय क्षति तथा अर्थतन्त्रमा परेको असरप्रति दुःख व्यक्त गरे ।
यो संवेदनशील तथा दुःखद् घडीमा सिङ्गो नेपाल सरकार सँगसँगै वाग्मती प्रदेश सरकारसमेत राक्षसी भाइरससँग लडिरहेको चीनसँग सदैव साथ छ, त्यहाँ रहेका नेपाली नागरिकमा सावधानी अपनाउन अनुरोध गर्दछु , पौडेलले प्रकाशित गरेको सन्देशमा उल्लेख छ ।
उनले सन्देशमा भनेका छन्, कोरोना भाइरस हाल नेपालीको अत्यधिक उपस्थिति रहेको मित्रराष्ट्र दक्षिण कोरियामा समेत फैलिएको खबरले चिन्तित तुल्याएको छ ।
हाल यो भाइरस संसारका विभिन्न ५० भन्दाबढी देशमा फैलिरहेको यथार्थबाट हामी जहाँ रहे पनि अत्यन्तै सावधान र सजग हुनु जरुरी छ ।
यस्तो अवस्थामा ती देशमा रहेका नेपाली नागरिकलाई महामारीबाट जोगिन अपनाउनुपर्ने सबै प्रकारका सावधानी अपनाउन हार्दिक अनुरोध गर्दछु ।
मुख्यमन्त्री पौडेलले कोरोना भाइरसले कुनै पनि सीमा, जात र जातीयताको फरक नछुट्याउने र मुलुकको जिडिपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको उल्लेख गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०७६