काठमाडौं । चीनको वुहानबाट उद्धार गरिएका १ सय ७५ जनामै कोराना भाइरसको संक्रमण नभएको पाइएको छ ।
बुधबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै सचिव खगराज दाहालले खरिपाटी क्वारेन्टाइनमा राखिएका नेपालीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ देखिएको बताए ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, फागुन ६ गते अपराह्न प्राप्त जानकारीअनुसार १ सय ७५ जनाको नाक र घाँटीभित्रको नमुनाहरुमा नोवल कोरोना भाइरसका लागि रियल टाइम आरटी–पीसीआरबाट परीक्षण गर्दा कुनै पनि नमुनामा २०१९ नोवल कोरोना भाइरस (कोभिड–१९) नभेटिएको जानकारी गराइन्छ , स्वास्थ्य मन्त्रालयले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुलाई गत आइतबार बिहान काठमाडौं ल्याएपछि स्वास्थ्य जाँच गरिएको थियो । त्यसको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको हाे । मन्त्रालयका अनुसार क्वारेन्टाइनमा राखेको १४ दिनमा फेरि उनीहरूकाे स्वास्थ्य जाँच गरिने छ ।
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६