काठमाडौं । चीनको वुहानमा रहेका १ सय ७५ जना नेपालीलाई काठमाडौँ ल्याइएको छ । नेपाल वायुसेवा निगमको जहाज नेपाली लिएर आइतबार बिहान करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।
वुहानबाट १ सय ८५ नेपालीको उद्धार गर्ने तयारी भए पनि अन्तिम समयमा १० जना भने चीनमा नै बसेका छन् । नेपाल फर्किने भनिएका १ सय ८५ मध्ये ४ जनाले वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनालाई भने ज्वरो देखिएकाले नेपाल फर्किन चीनले रोकेको बताइएको छ ।
नेपाल ल्याइएकारूको त्रिभुवन विमानस्थलमा पुनः स्वास्थ्य परीक्षण गरेर खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा क्वारेन्टाइन लगिएकाे छ ।

चीनस्थित नेपाली दूतावासका अनुसार नेपाल फर्किएकामा १ सय ७० विद्यार्थी, १ जना जागिरे, २ पर्यटक र २ जना बालबालिका छन् ।
नेपालीलाई लिन शनिबार दिउसो डाक्टरसहित १७ जनाको टोली नेपाल एयरलाइन्सको विमान लिएर वुहान गएको थियो । नेपालबाट उद्धारका लागि जहाज आउने भएपछि हुबेई प्रान्तमा रहेका नेपालीहरु शनिबार दिउँसै राजधानी वुहानमा जम्मा भएका थिए । दूतावासले विभिन्न सहरबाट आफ्ना नागरिकलाई ६ वटा बसमा वुहानसम्म ल्याएको थियो ।
जहाजका पाइलटसहित अन्य सदस्यहरूलाई नगरकोटको खानेपानी तालिम केन्द्रमा राखिएकाे छ । जहाजमा ३ जना पाइलट, ६ जना क्याबिन क्रु, ४ जना नेपाली सेनाका चिकित्सक र १ इन्जिनियर र १ लोडमास्टर थिए ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६