काठमाडाैं । झापाको बिएन्डसी मेडिकल कलेजको सम्बन्धन प्रक्रिया अघि बढाउन माग गर्दै सञ्चालक दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगमा निवेदन दिएका छन् ।
मेडिकल कलेज सञ्चालक प्रसाईंका अनुसार सम्बन्धन माग्दै दिएको निवेदन आयोगले दर्ता गरेको छ । भक्तपुर प्रशसनबाट तारेखमा छुटेलगत्तै बिहीबार आयोग पुगेर प्रसाईंले निवेदन दर्ता गराएका हुन् ।
आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले पनि निवेदन दर्ता भएकाे पुष्टि गरे । पहिले नियमसंगत रुपले निवेदन नआएकाले प्रक्रियामा नगएकाे भन्दै उनले अहिले दर्ता भएर प्रक्रियामा गइसकेको बताए । भने, ‘हामी अध्ययन गरेर छिट्टै निर्णयमा पुग्छाैं ।
चिकित्सा शिक्षा ऐनमा राजधानीबाहिर आशयपत्र पाएका मेडिकल कलेजलाई सम्बन्धन दिन सकिने उल्लेख छ ।
अभद्र व्यवहारको कसुर लागेका मेडिकल कलेज सञ्चालक दुर्गा प्रसाईं बिहीबारै साधारण तारेखमा रिहा भएका हुन् । प्रशासनमा हाजिर भएपछि उनलाई साधारण तारेखमा छाड्न भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले आदेश दिएकी थिइन् ।
मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले २ माघमा बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६