काठमाडौं । सरकारले चीनबाट नेपाल आउन चाहने विद्यार्थी र नागरिकका लागि ४ ठाउँमा क्वारेन्टाइन बनाउने भएकाे छ । शिवपुरी, इचंगुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गर्न लागिएकाे हाे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बन्धित मन्त्रालयका मन्त्री र उच्च सरकारी अधिकारीहरुको बैठक राखेर साे ४ स्थानमा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
बैठकमा प्रधानमन्त्रीले चीनबाट आउन चाहनेलाई ल्याउन र ती चार स्थानमा राख्न निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि १ सय ८० नेपाली विद्यार्थीले स्वदेश फर्किन चीनस्थित नेपाली दूतावासमा निवेदन दिइसकेका छन् । तर सरकारले भने स्वदेश फर्काएपछि राख्ने ठाउँ तयार भइनसकेको भन्दै ढिलाइ गर्दै आएको थियो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराईलगायत उच्च अधिकारीहरु सहभागी थिए ।
सो अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद विडारीले अत्यावश्यक कार्ययोजना प्रस्तुत गरेका थिए भने परराष्ट्र सचिव शंकरदास वैरागीले पछिल्लो अवस्थाका बारेमा बैठकमा गराएका थिए ।
प्रकाशित मिति: बिहीबार, माघ २३, २०७६