बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा सिकलसेल एनिमिया रोगीको चाप बढ्दो रहेको छ ।
सिकलसेल एनिमिया रोग थारु समुदायमा प्रमुख स्वास्थ्य समस्याका रुपमा रहेको जनाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सिकलसेल प्रमाणित भएका बिरामीलाई १ लाख रुपैयाँ बराबरको औषधि र जाँचसेवा प्रदान गर्ने गर्दछ ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल विभाग प्रमुख डा राजन पाण्डेले पुस मसान्तसम्म ७ सय ६७ जनाले १ लाख बराबरको उपचार सेवा लिने गरी अस्पतालले सूचीकृत गरेको जानकारी दिए । उनले भने, सिकलसेल एनिमिया रोग वंशाणुगतरूपमा मात्र सर्छ । बैलैमा रोग भए/नभएको जाँच गर्न सकेमा यसबाट बच्न सकिन्छ ।
प्रमुख डा पाण्डेले केही समययता अस्पतालमा बिरामीको चाप बढिरहेको जानकारी दिए । उनले भने यो रोगमा जन्डिस हुने, हातखुट्टाको जोर्नी दुख्ने बाथजस्तो हुने भए पनि यो रोग वंशाणुगतबाहेक १ व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन ।
नेपालगन्जस्थित भेरी अस्पतालमा मात्रै सिकलसेलको निःशुल्क जाँच गरिँदै आएको छ । उपचारका लागि अस्पतालमा आउने बिरामीलाई रोगका बारेमा मनोसामाजिक परामर्श र अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी दिने गरिएको परामर्शदाता तथा स्टाफ नर्स आस्था केसीले जानकारी दिइन् ।
उनले भनिन्, हामी अस्पतालमा आउने सिकलसेलका बिरामीलाई रोगको बारेमा जानकारी दिनुका साथै यसको लक्षण, अवस्था, गर्न हुने/नहुने कुराका बारेमा सम्झाउने गरेका छौँ ।
बाँकेको भेरी अस्पतालको सामाजिक सेवा एकाइ अन्तर्गत सञ्चालनमा रहेको विपन्न नागरिक स्वास्थ्य उपचार कोषबाट सिकलसेलका बिरामीले निःशुल्क उपचार पाउने गरेको एकाई प्रमुख प्रेम सुवेदीले जानकारी दिए । रासस
प्रकाशित मिति: मंगलबार, माघ २१, २०७६