प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृ संगठन धनुषा–काठमाडौं सम्पर्क मञ्चले धनुषाबाट विभिन्न पेसा व्यवसाय गरेर राजधानी काठमाडौंमा बसोबास गर्नेहरूलाई समेटेर उनीहरुकै हकहितका लागि काम गर्दैं आएको छ । सोही संगठनका वर्तमान अध्यक्ष किरण कार्कीसँग आजको न्युजले समसामयिक राजनीतिक परिवेशमा रहेर कुरा गरेको छ । २०६५ सालदेखि सम्पर्क मञ्चको सदस्य भएर काम गरेका कार्की २०७२ सालको नवौं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका हुन् ।
- तपाईं संगठन नेकपा एमालेको भ्रातृ संगठनको अध्यक्ष चयन हुनुभएको थियो । अहिले तपाईंहरुको मूल पार्टी माओवादीसँग एकीकरण भइसकेको छ । तपाईंहरुको संगठनको एकता चैं किन हुन सकेको छैन ?
दुई पार्टी एकीकरण गर्ने भन्ने कुरा त्यति सजिलो छैन । यसका पनि केही प्रक्रिया हुन्छन् । मूल पार्टीहरु एकीकरण भइसकेपछि विस्तारै त्यसका भ्रातृ संगठनहरुको एकता भइरहेको छ । अहिले दुई पार्टीका प्रदेश कमिटीसम्म एकता भइसकेको अवस्था छ । हाम्रो संगठनको पनि एकताका लागि छलफल भइरहेको छ । सम्भवतः यो विषय चाँडै २–३ महिनाभित्रै टुंगिएला ।
- तपाईले मञ्चको नेतृत्व गरेपछि पार्टीका लागि विशेष के योगदान पुर्याउनुभयो ?
नेतृत्व गरेपछि पहिलो र मुख्य कुरा त संगठन विस्तार नै हो । सँगसँगै हामीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा हामीले विशेषतः काम गरेका छौं । धनुषाबाट विभिन्न कामका सिलसिलामा काठमाडौं आएकाहरुलाई आवश्यक सरसहयोग गर्ने, गरिब विद्यार्थीहरुका लागि कलेजहरुमा छात्रवृत्तिका लागि पहल गरिदिने, जिल्लाबाट बिरामी भएर उपचारका लागि आएकालाई पनि अस्पतालमै गएर बेड मिलाउने, रगतको प्रबन्ध गर्ने उपचार शुल्कमा छुट गराउने जस्ता काम मञ्चले गरेको छ । पार्टीका क्रियाशील व्यक्तित्वहरुको निधन हुँदा पार्टीको तर्फबाट अन्तिम श्रद्धाञ्जली दिने, मृतकका परिवारलाई समवेदना व्यक्त गर्ने जस्ता जनप्रिय कार्य गर्दै आएका छौं । यसले पार्टीलाई जनतामाझ अझै लोकप्रिय र भरोसाको केन्द्र बन्न सकेको छ ।
संगठनले मञ्चका सदस्यहरुलाई वर्षमा १ पटक निःशुल्क बनभोज लाने व्यवस्था गरेका छौं । हरेक वर्ष संगठनको क्यालेन्डर प्रकाशन गरेर जिल्लामा घरघरमै पुगेर वितरण गर्ने गछौं । यसो गर्दा जिल्लाका स्थानीयका बारे पनि हामी अपडेट रहन्छौं । र परेको आवश्यक सहयोग गर्ने गरेका छौं ।
- संगठनमा तपाईले नेतृत्व गरिरहँदा देशमा तीनै तहका निर्वाचन भए । ती निर्वाचनमा तपाईको संगठनको भूमिका के रह्यो ?
हामीले तीनै तहको निर्वाचनका बेला विभिन्न तरिकाले सहयोग गरेका छौं । जिल्लाका १३ स्थानीय निकायमा हाम्रो संगठनले निर्वाचन प्रचारप्रसार सामग्री वितरण गरेको थियो । यसैगरी संघीय र प्रदेशको निर्वाचनमा पनि हाम्रो संगठनका साथीहरुले निरन्तर खट्नुभएको छ । काठमाडौंमा रहेका मतदाताहरुलाई जिल्ला जानका लागि गाडीको व्यवस्था गरेका थियौं । जिल्लाबाट निर्वाचित भएका तीनै तहका जनप्रतिनिधिलाई काठमाडौंमा सम्मानसहित बनभोज कार्यक्रमको आयोजना गरेका थियौं ।
- तपाईंको संगठनले सामाजिक क्षेत्रमा गरेका अरु योगदानबारे बताइदिनुस् न ।
हाम्रो संगठनले धनुषा जिल्लामा घर भई आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरुलाई विभिन्न सहयोग गरेका छौं । मिथिला नगरपालिका निवासी सगम कुसुवार रुखबाट लडेर मेरुदण्ड भाँचिएर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भइरहेका बेला हामीले नगद १० हजार रुपैयाँ सहयोग गरेका थियौं । यसैगरी जनयुद्धकालमा काठमाडौंको भैरवनाथ गणबाट बेपत्ता पारिएका सहिद अमर विक र रामेछापको दोरम्बा घटनामा मारिएका सहिद जगत विकका बुबा तुलमान विकलाई रक्त क्यान्सर भई काठमाडौंस्थित सिभिल अस्पतालमा उपचार गराइरहेको अवस्थामा हाम्रो संगठनले १० हजार रुपैयाँ सहयोग गरेको थियो । यो रकम आफैँमा ठूलो त होइन । तर सो सहयोगले सहिदको सम्मान र सहिद परिवारको पीडामा मल्हम लगाउने काम गरेको छ ।
जिल्लाका आर्थिक अवस्था कमजोर भएको परिवारका ६ जना विद्यार्थीलाई हाम्रो संगठनको तर्फबाट छात्रवृत्तिमा अध्ययन गराउने व्यवस्था गरिएको छ । आगामी वर्ष १० जनालाई छात्रवृत्तिमा पढाउने लक्ष्य लिएका छौं ।
यसैगरी हाम्रो संगठनका पूर्वअध्यक्षहरु यो संगठनको मुख्य पिलरको रुपमा हुनुहुन्छ । उहाँहरुको मेहनत र सक्रियताले संगठन आजको दिनसम्म आइपुगेको छ । उहाँहरुले संगठनमा पुर्याएको योगदानको कदर गर्दै मेरो नेतृत्वकालमा उहाँहरुलाई सम्मानसमेत गरेका छौं ।
- धनुषाका स्थानीय बासिन्दाका लागि विशेष केही गर्नुभएको छ ?
धनुषाको तारापट्टी सिर्सिया निवासी पुरानो कम्युनिस्ट नेता चुलाई महरालाई हाम्रो संगठनले सहयोग गरेको छ । महरा त्यो नेता हो, जसले भूमिगत काल (कोके काल) मा अहिलेका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल, जननेता मदन भण्डारी, ईश्वर पोखरेललगायत थुप्रै नेताहरुलाई सेल्टर दिनुभएको थियो । तीमध्ये नेपाल र खनाल प्रधानमन्त्री भइसकेका छन् भने पोखरेल हालको सरकारका पहिलो बरीयताका उपप्रधानमन्त्री छन् । भूमिगत समयमा नेताहरुको कोअर्डिनेसन बैठक नै महराकै घरमा बसेको नेताहरु बताउँछन् ।
तराईको एउटा दलित किसानको छोराले दिनभरी बनिबुतो गरेर कमाएर ल्याएको अन्नपात पकाएर नेताहरुलाई खुवाउने गरेको पुराना नेताहरु नै बताउँछन् । भूमिगत अवस्थामा राजनीतिमा उहाँले गरेको त्यो योगदानलाई भने तिनै नेताले नेतृत्व गरेका सरकारले सम्झिएनन् ।
महरा आफू बिरामी भएपछि उपचार गर्ने रकम अभाव भएपछि स्थानीय साहुसँग ४७ हजार रुपैयाँ ऋण लिनुभएको थियो । उहाँले त्यो ऋण तिर्न नसकेपछि त्यो रकम बढ्दै गएर ७ लाख रुपैयाँ पुगेको थियो । उहाँले लिएको ऋणका कारण जग्गाजमिन नै लिलाम हुने अवस्थामा पुगेको थियो । त्यस्तो अवस्थामा सम्पर्क मञ्चको पहलमा साहुसँग छलफल गरी न्यूनतम रकममा सहमति भएको र उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको निर्देशन र सहयोगमा उक्त रकम संगठनले हस्तान्तरण गरी जग्गा फुकुवा गराइदिएको छ ।
दम रोगबाट पीडित महराको उपचारका लागि पनि संगठनले पटकपटक गरी १७ हजार रुपैयाँ सहयोग गरेको छ ।
यसैगरी गत वर्ष पुस २३ गते आगलागी भई घरबारविहीन भएका देवनारायण रसाइलीको परिवारले अर्थिक अवस्था नाजुक भएकाले घर बनाउन सक्ने अवस्था थिएन । त्यस्तो अवस्थामा स्थानीय तथा प्रदेश सरकारसमेत पुग्न नसकेका बेला तत्कालीन मन्त्री रघुवीर महासेठ, प्रतनिधिसभा सदस्य जुलीकुमारी महतो, मिथिला नगरपालकिाका मेयर हरिनारायण महतोसहित हाम्रो संगठनका पदाधिकारीहरु पुगेर तत्काल केही राहत रकम वितरण गर्यौं । साथै त्यहीँबाट पूर्वमन्त्री महासेठले रसाइली परिवारका लागि घर बनाइदिने प्रतिबद्धता जनाउनुभएको थियो । सोही अनुसार सम्पर्क मञ्चको पहल र विभिन्न व्यक्ति तथा निकायको सहयोगमा अहिले ३ कोठे पक्की घर निर्माणाधीन अवस्थामा छ । घरमात्रै नभएर उनको परिवारलाई आवश्यक सामग्रीहरु जस्तै भाँडाकुँडा, लत्ताकपडा, ग्यास, खाद्यान्नलगायत सहयोग गर्ने योजना बनाएका छौं । घर र ती सामग्रीहरु पूर्वमन्त्री महासेठकै हातबाट हस्तान्तरण हुने छन् ।
- दुई पार्टी एकीकरण भएको छ । अव हुने पार्टीको एकता महाधिवेशनबाट कस्तो नेतृत्वको आशा राख्नुभएको छ ?
एकताको अधिवेशनमा आउने निर्वाचन प्रतिनिधिहरुले युवा पुस्ताबाट नेतृत्व छान्नुहुनेछ भन्ने लाग्छ । अबको महाधिवेशनबाट नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्छ ताकि अर्को अधिवेशनमा तेस्रो पुस्ताले नेतृत्व पाउने वातावरण बनोस् ।
- तपाईंको नेतृत्वमा संगठनको भावी योजना के छन् त ?
हामीले खास त्यस्ता नयाँ केही योजना बनाउने भन्दा पनि धनुषाबाट काठमाडौं आई बसोबास गर्ने हरेक पेसा व्यवसायमा संलग्न व्यक्तिहरुको सुखदुखको साथी बन्ने मुख्य उद्देश्य हो । जिल्लाबासीको हरेक सुख दुःखमा साथ र सहयोग गर्ने गरी अघि बढ्ने छौं । पार्टीको नीति र सिद्धान्तलाई अनुशरण गर्दै जनताका बीचमा रही जनताकै हकहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । साथै जिल्ला कमिटीसँग समन्वय गरी आवश्यक सहयोग गरिरहेकै छौं र त्यो निरन्तर रहने छ ।
प्रकाशित मिति: बुधबार, पुस २३, २०७६