बर्दिबास । नेपाली सेनाद्वारा महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा सञ्चालन गरिएको १० दिने निःशुल्क शल्यचिकित्सासहितको स्वास्थ्य शिविरबाट ३४ हजारभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।
गत मंसिर २७ गतेदेखि आइतबारसम्म शिविर सञ्चालन भएको थियो । खखना माध्यमिक विद्यालय परिसरमा आयोजित शिविर समापन समारोहमा नेपाली सेनाका सहायक रथि डा देवेन्द्रबहादुर खत्रीले उपचार सेवा लिनेमा १७ हजार ९ सय ७३ महिला र १४ हजार १ सय ६४ पुरुष रहेका र २ हजार ३५ ले परामर्श सेवा लिएका जानकारी दिए ।
शिविरमा १ सय ९३ पुरुष र १ सय ३६ महिला गरी ३ सय २९ जनाको जटिल शल्यक्रिया भएको, ६० लाख मूल्य बराबरको औषधि बिरामीलाई निःशुल्क उपलब्ध गराइएको थियो । शिविरका सूचना अधिकारी सेनानि नवीन कुँवरले शिविरमा सेवा लिन आउने विरामीलाई उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गरिएको बताए ।
समापन समारोहमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली सेनाले ग्रामीण विपन्न वर्गका जनतालाई घर आगमनमा स्वास्थ्य सेवा उपलब्ध गराएकोमा धन्यवाद दिए ।
शिविरमा नेपाली सेनाका ६० जना दक्ष विशेषज्ञ चिकित्सक र १ सय ५ स्वास्थ्यकर्मी (नर्स, पारामेडिकल र ल्याब टेक्निसियन) सहित १ सय ६५ जनाको टोलीले उपचार सेवा प्रदान गरेकाे थियाे ।
शिविरमा महोत्तरीका अतिरिक्त सर्लाही, धनुषा, उदयपुर, सिरहा, रौतहट, सिन्धुली र सप्तरीका बिरामीले उपचार सेवा प्राप्त गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा सुरेन्द्रकुमार यादव र प्रदेशसभा–२ का सदस्य कौशलकुमार यादवले सेनाले दिएको सेवाको प्रशंसा गरेका थिए ।
प्रकाशित मिति: सोमबार, पुस ७, २०७६