काठमाडौं । एपेन्डिसाइटिसकाे शल्यक्रियापछि अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ ।
बुधबार बिहान १० बजे विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीकाे स्वास्थ्यमा उल्लेख्य सुधार आएकाे जनाएकाे हाे । सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको र हाल उहाँलाई चिकित्सकीय अवलोकनमा राखिएको व्यवहोरा जानकारी गराइन्छ , विज्ञप्तिमा भनिएको छ ।

पेट दुखेर शिक्षण अस्पताल परिसरमा रहेकाे मनोमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका ओलीको एपेन्डिसाइटिस फुटेर पेटमा संक्रमण भएकाे पाइएकाे थियाे ।
डिस्चार्जकाे तयारी
यसैबीच अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्ने तयारी अस्पतालले गरेकाे छ । विश्वस्त स्राेतका अनुसार ओलीले कर गरेपछि डिस्चार्जकाे तयारीमा अस्पताल पुगेकाे हाे ।
ओलीले अस्पतालमा बसिरहँदा गलत सन्देश जाने भन्दै डिस्चार्जका लागि दबाब दिएकाे स्राेतले बतायाे । उनलाई बालुवाटारमै चिकित्सककाे निगरानीमा राख्ने गरी डिस्चार्ज गर्न लागिएकाे हाे ।
केही दिनअघि प्रधानमन्त्री ओलीले अस्पतालको शय्याबाटै भिडियो सन्देश जारी गर्दै आफ्नाे स्वास्थ्यमा सुधार आइरहेकाे बताएका थिए । मेरो स्वास्थ्य राम्ररी सुधार भइराखेको छ। एउटा मेजर अपरेसनपछि पनि म उठेर बोल्न सक्ने, साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा छु र समाचारहरु हेर्न सक्ने अवस्थामा छु , उनले भनेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १८, २०७६