प्रधानमन्त्री केपी ओलीको स्वास्थ्य अवस्था खतरामुक्त रहेकाे र अब १ सातामा उनी डिस्चार्ज हुने उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत विशेषज्ञ चिकित्सकले प्रधानमन्त्रीलाई १ साता अस्पतालमै राखिने र १० दिनपछि नियमित काममा फर्कन सक्ने जानकारी दिएका हुन् ।
‘उहाँलाई १ हप्तामा डिस्चार्ज गरिन्छ,’ प्रधानमन्त्री ओलीको उपचारमा संलग्न डा. रमेशसिंह भण्डारीले भने, ‘१० दिनमा उहाँ अस्पताल भर्ना हुनुपूर्वको अवस्थामा पुग्नुहुने छ ।’
‘उहाँको एपेन्डिक्स फुटेको थियो। त्यो भनेको बेलुन फुटेजस्तो प्याट्ट फुट्ने होइन तर पेटमा संक्रमण भएको थियो,’ डाक्टर भण्डारीले भने,‘अहिले त्यो संक्रमण हटिसकेको छ। उहाँको घाउ निको हुन अझै साताजति लाग्छ ।’
एपेन्डिसाइटिसको शल्यक्रियापश्चात सघन कक्षमा उपचाररत प्रधानमन्त्रीको मंगलबार र बुधबार दुईपटक डायलाइसिस गरिएको भण्डारीको भनाइ छ ।
सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक डाक्टर दिव्या सिंहले सोचेभन्दा बढी प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको जानकारी दिइन् । यसैगरी उनले नियमित डायलाइसिस गराउनुभन्दा मिर्गाैला प्रत्यारोपण उत्तम विकल्प रहेको पनि बताइन् ।
अचानक पेट दुखेपछि प्रधानमन्त्री ओलीलाई गत मंगलवार महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो।
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६