काठमाडौं: महिनावारी स्वच्छता सम्बन्धी विषयलाई सञ्चारमाध्यमहरूले स्थान नदिएको एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनसँग सम्बन्धित मुद्दाहरू अगाडि बढाउनका लागि मित्र समाजले गरेको सञ्चार अनुगमन प्रतिवेदन अनुसार मिडियामा महिनावारी स्वाच्छता सम्बन्धी विषयले स्थान नपाएको हो । समाजले वाटर एडको सहयोगमा प्रतिवेदन तयार पारेको हो ।
खानेपानीमन्त्री विना मगरले सार्वजनिक गरेकी सञ्चार अनुगमन प्रतिवेदन अनुसार मिडियाले प्राथमितामा नराखेको बताइएको छ । अध्ययनको निश्कर्षहरू सार्वजनिक गर्दै मित्र समाजकी पब्लिक हेल्थ एक्स्पर्ट जयश्री राईले भनिन्, ‘महिनावारी तथा महिनावारी स्वच्छताको विषयमा लेख रचनाहरू बढ्दो क्रममा प्रकाशित हुन थालेपनि महिनावारी तथा महिनावारी स्वच्छता सम्बन्धी विषयलाई सञ्चार माध्यमले प्राथमिकताका साथ उठाएको छैन ।’
प्रतिवेदन अनुसार धेरैजसो प्रकाशित लेखहरूले छाउपडीसँग सम्बन्धित विषयलाई मात्र समेटेको पाइएको छ । महिनावारी सम्बन्धी कानुनी प्रावधानहरूलाई उद्धृत गरेको भएपनि कानुनको पालना नगर्दा हुने परिणामहरूको बारेमा भने स्पष्ट समाचार आउन नसकेको औल्याएको छ ।
सञ्चार अनुगमन अध्ययनमा प्रिन्ट र अनलाइन सञ्चार माध्यम गरी कुल १८ वटा सञ्चार माध्यम समावेश गरिएको थियो । ती १८ सञ्चार माध्यमले सन् २०१८ को जुलाईदेखि सन् २०१९ को जुनसम्म छापेका महिनावारी व्यवस्थापन सम्बन्धी विषयलाई रिपोर्टमा विश्लेषण गरिएको छ ।
प्रतिवेदन अनुसार एक वर्षको अवधिमा महिनावारी व्यवस्थापन सँग सम्बन्धित ४१० वटा समाचार तथा लेख प्रकाशित भएका छन् । ती मध्ये सबैभन्दा बढी दैनिक पत्रपत्रिकाले ५७.३ प्रतिशत, अनलाइन सञ्चार माध्यमले ४०.२ प्रतिशत, म्यागजिनले २.४ प्रतिशत समाचार तथा लेखरचना प्रकाशित भएका छन् ।
प्रतिवेदनले सञ्चार माध्यमका साथै सरकार तथा कार्यक्रम व्यवस्थापकका लागि समेत विभिन्न सुझाव दिएको छ । सञ्चार माध्यमले पाठकहरूमा चासो जगाउने खालका कुनै कार्यक्रम, घटनाहरू अथवा सम्बन्धित मुद्दाहरूमा लेखिएका फलोअप लेखहरू पनि प्रकाशित हुँदा अझ प्रभावकारी हुने सुझाव दिएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६