बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा ‘झोले चिकित्सक’ले उपचार गर्ने क्रममा २ जनाको मृत्यु भएपछि नरैनापुर क्षेत्रमा रहेका अवैध क्लिनिक बन्द गर्न निर्देशन दिइएको छ ।
सोमबार उपचारका क्रममा नरैनापुर–५ मटेहियाका ३० वर्षीय गयाराज धोबी र राप्तीसोनारी गाउँपालिका–७ गेदवाका २८ वर्षीय मालिकराम धोबीको मृत्यु भएपछि अवैधरुपमा सञ्चालनमा रहेका क्लिनिक बन्द गर्न निर्देशन दिइएको हो ।
नरैनापुर गाउँपालिकामा भारतका श्रावस्ती जिल्लाको मनकौरा गाउँमा बस्दै आएका ‘झोले चिकित्सक’ राजेश सिंहले उपचार गर्दा गयाराज र मालिकरामको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको घरमा मुण्डन कार्यक्रममा सहभागी भएका गयाराज र मालिकरामले भोज खाएपछि बान्ता भएको र उपचारका लागि आएका ‘झोले चिकित्सक’ राजेश सिंहले बिरामीको रोग पहिचान नगरी अनुमानका आधारमा औषधि सेवन गर्न लगाएपछि मृत्यु भएको प्रहरीको अनुमान छ ।
भोज खाएलगत्तै बान्ता हुने क्रम बढेपछि परिवारका सदस्यले डाक्टर बोलाउनुभएछ , इलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मानबहादुर बिसीले भने, उपचारकै क्रममा गयाराजको मृत्यु भयो, मालिकरामलाई उपचारका लागि नेपालगन्ज लैजाने क्रममा मृत्यु भएको हो ।
करिब २५ वर्षदेखि गाउँमा अवैधरुपमा उपचार गरेर क्लिनिक सञ्चालन गर्दै आएका राजेश सिंहले उपचारका क्रममा यसअघि पनि धेरैले ज्यान गुमाउनुपरेको स्थानीय मयाराम धोबीले बताए ।
धेरै मान्छेको मृत्यु भयो तर जाँच नभएका कारण कुरा खुलेन । हिजो मृत्यु भएका गयाराज र मालिकरामको शव परीक्षणपछि अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ । उपचारका क्रममा गयाराज र मालिकरामको मृत्यु भएपछि प्रदेशसभा सदस्य कृष्ण केसी ‘नमूना’ आजै नरैनापुर पुगेर घटनास्थलको अवलोकन र पीडितसँग भेटघाट गरे ।
प्रदेशसभा सदस्य केसीले भने, अब यस्ता घटना दोहोरिनुहुन्न । नरैनापुर क्षेत्रमा रहेका अन्य अवैध क्लिनिकको अवलोकनपछि त्यस्ता क्लिनिक सिल गर्न प्रहरीलाई निर्देशन दिइएको बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६