लहान । समयमै औषधि खरीद गरी गाउँपालिकाले आपूर्ति नगर्दा सिरहाको लक्ष्मीपुर गाउँपालिका–६ स्थित सीतापुर स्वास्थ्यचौकीमा औषधि अभाव भएको छ ।
मौसममा आएको परिवर्तनसँगै स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको बेला स्वास्थ्य संस्थामा अत्यावश्क औषधिको अभाव भएपछि बिरामी निजी क्लिनिक धाउन बाध्य छन् । विगत ६ महिनादेखि गाउँपालिकाले औषधि खरिद गरी आपूर्ति गर्न नसक्दा सीतापुर स्वास्थ्यचौकीमा औषधिको आभाव भएको हो ।
विगत १ सातादेखि ज्वरोले थलिएका सीतापुरका सहदेव साह उपचारका लागि स्वास्थ्यचौकी धाउँदै आए पनि औषधि नरहेको भन्दै स्वास्थ्यकर्मीले रित्तै फर्काएको गुनासो गर्छन् ।
अहिले शरीरमा चोट लाग्दा लगाउने बेटाडिनदेखि घाउ पुछ्ने कपास र ब्यान्डेजसम्म नरहेको स्वास्थ्यचौकी सीतापुरका प्रमुख झौली साहको भनाइ छ । उनका अनुसार रुघाखोकी, ज्वरो, झाडापखाला तथा निमोनियाका बिरामीलाई चाहिने पारासिटामोल, जीवनजलदेखि अधिकांश एन्टिबायोटिक्स स्वास्थ्यचौकीमा अहिले छैन ।
अहिले दैनिक २०/२५ बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण बिरामीको उपचारमा समस्या भइरहेको स्वास्थ्यकर्मीले बताएका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६