काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया सकिएको छ । त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरमा प्रधानमन्त्रीकाे शल्यक्रिया गरिएको हो ।
पेटमा अत्यधिक दुखाइका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको खुलेपछि तत्काल शल्यक्रिया गरिएको थियो ।
प्रधानमन्त्रीको शल्यक्रिया सकिएपछि आइसियुमा सारिएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मनमोहन कार्डियोथोरासिक भास्कुलर ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्जमा एपेन्डिसाइटिसको अपरेसन १२ः४० बजे सफलतापूर्वक सम्पन्न भएको। यो सुखद समाचार सबैको जानकारीका लागि अनुरोध गर्दछु’ थापाले ट्वीट गरेका छन् ।
शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीको टोलीले एपेन्डिसाइटिसको शल्यक्रिया गरेकाे हाे । प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने बताइएको छ ।
आइतबार मात्र प्रधानमन्त्री ओलीको धापासिस्थित ग्रान्डी इन्टरनेसल अस्पतालमा मिर्गाैलाकाे डाइलासिस गरिएको थियो ।
यसैबीच, प्रधानमन्त्री पत्नी राधिका शाक्यले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेकाे डाक्टरहरूले बताएकाे जनाएकी छिन् । अस्पतालबाट बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले भनिन्, ‘डाक्टरहरुले राम्रो छ भनेका छन् ।’
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६