काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
पेट दुखेपछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो । महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनको शल्यक्रिया गरिएको हो ।
डाक्टर रमेशसिंह भण्डारीको टोलीले ओलीको एपेन्डिसाइटिसको अप्रेसन गरेको हो। प्रधानमन्त्रीको मिर्गौलामा पनि समस्या भएकाले डा. दिव्या सिंहको टोली पनि अपरेसन थिएटरमै रहेको बताइएको छ । डा. भण्डारीको टोलीले नेपालमै पहिलो पटक त्रिवि शिक्षण अस्पतालमै कलेजेको सफल प्रत्यारोपण गरेको थियो।
यसअघि प्रधानमन्त्रीको मिर्गौलाले काम गर्न छाडेपछि धापासीस्थित ग्रान्डी अस्पतालमा ३ पटक डायलाइसिस गरिसकिएको छ। ३ दिनअघि मात्रै प्रमको मिर्गौलाको तेस्रो डायलाइसिस गरिएको थियो।
प्रकाशित मिति: मंगलबार, मंसिर १०, २०७६