डडेल्धुरा । वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो १७औं अनसन स्थगित गरेका छन् । मंगलबार नवौं दिनमा केसीले आफ्नो अनसन तोडेको घोषणा गरेका हुन् ।
राष्ट्रियताको संवेदनशील विषयमा जनस्तरबाट आवाज उठिरहँदा देशबासीको संवेदनालाई ख्याल गर्दै अनसन स्थगित गरेको उनले विज्ञप्तिमार्फत जनाएका छन । चिकित्सा शिक्षा ऐन संशोधनको प्रमुख माग राखेर उनी डडेल्धुरामा अनसन बसेका थिए ।
केसीले स्वास्थ्य र चिकित्सा शिक्षामा सुधार तथा सुशासनका लागि आफ्नो लडाइँ जारी नै रहने स्मरण पत्रकारहरूमार्फत गराएका छन् । सरकारले आफ्नो माग पूरा नगरे पुनः अनसनसहितका आन्दोलनका कार्यक्रम ल्याउने उनले बताएका छन् ।
अनसनकै बीचमा भारतले निकालेको नयाँ नक्सामा नेपालको पश्चिमी सीमा क्षेत्रको लिम्पियाधुरासम्मको भूभाग भारतमा समेटिएको समाचारले अरु नेपाली नागरिकजस्तै आफू पनि स्तब्ध भएको केसीले जनाएका छन् ।
उनले सीमा रक्षा राष्ट्रियताको पहिलो सर्त हो भन्दै सबल र आत्मसम्मानपूर्ण राष्ट्रका लागि सीमा रक्षा मात्रै काफी नभएको दाबी गरेका छन् । आम नागरिकको जीविका सहज हुने, गुणस्तरीय शिक्षा स्वास्थ्य उपलब्ध हुने तथा बिना भेदभाव र भय सबै नागरिक बाँच्न पाउने अवस्थामा मात्र राष्ट्रियता बलियो हुन सक्ने केसीको तर्क छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६